सर्वाधिक पुरस्कार राशिको ‘प्रथम उपमेयर कप खो-खो प्रतियोगिता’ सुरु

काठमाडौँ, असार ११ । काठमाडौँ महानगरपालिकाआयोजना र नेपाल खोखो सङ्घको सहयोगमा सामुदायिक विद्यालय स्तरीय ‘प्रथम उपमेयर कप खोखो प्रतियोगिता २०८३’ कीर्तिपुर कभर्डहलमा सुरु भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि आयोजित यस प्रतियोगिताको उद्घाटन शुक्रबार एक विशेष समारोहका बिच गरियो । प्रतियोगितामा छात्रातर्फ १० र छात्रतर्फ ८ गरी कुल १८ वटा टिमका २१६ खेलाडीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । प्रशिक्षक र टिम व्यवस्थापकसहित २५२ जनाको प्रत्यक्ष सहभागिता रहेको यो प्रतियोगिता असार १३ गतेसम्म चल्नेछ ।

खेलको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले महानगरले विद्यार्थीहरूको व्यक्तित्व, नेतृत्व र क्षमता विकासका लागि खेलकुदलाई शैक्षिक कार्यक्रम जत्तिकै प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूको चाहना र मागलाई मध्यनजर गर्दै खेलकुदका कार्यक्रमहरूलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउँदै लगिनेछ ।”

नेपाल खो-खो सङ्घका अध्यक्ष प्रदीप महर्जन र महानगरपालिका खो-खो सङ्घका अध्यक्ष दीपक महर्जनले महानगरको सहयोगले लोप हुन लागेको रैथाने खेल खो-खोको प्रवर्द्धनमा ठुलो टेवा पुगेको बताउनुभयो । विद्यालय स्तरमा आयोजना गरिएका खो-खो प्रतियोगिताहरूमध्ये यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको उहाँहरूको दाबी छ ।

पुरस्कार र सुविधा
लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको यस प्रतियोगितामा छात्र र छात्रा दुवै समूहका विजेताले आकर्षक पुरस्कार प्राप्त गर्नेछन्:

  • प्रथम : ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र 

  • दोस्रो : २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र 

  • तेस्रो : १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र 

  • विधागत पुरस्कार : प्रतियोगिताका ‘बेस्ट रनर’ र ‘बेस्ट चेजर’ लाई जनही १० हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्र 

प्रतियोगितामा खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै दुर्घटना बिमाको समेत व्यवस्था गरिएको छ । खेल अवधिमा चोटपटक लागेमा १ लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइने आयोजकले जनाएको छ । ३० जना निर्णायक मण्डलले खेलको प्राविधिक पक्ष सञ्चालन गरिरहेका छन् ।

सहभागी विद्यालयहरू
प्रतियोगितामा शान्ति निकुञ्ज, महांकाल, भीमसेनगोला, पद्मकन्या, जनप्रभात, सहिद शुक्र, विश्व निकेतन, सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी र कन्या मन्दिर माध्यमिक विद्यालयले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको लोगोमा काठमाडौँको सांस्कृतिक सम्पदा नौतले दरबारअगाडिको डबलीमा खोखो खेलिरहेको र ‘पोल डाइभ’ दिइरहेको मौलिक चित्रलाई समावेश गरिएको छ, जसले खेल र संस्कृतिको सम्बन्धलाई दर्शाउँछ ।