काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

काठमाडौँ, २८ असोज। काठमाडौंको तीनकुनेस्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको ज्यान गएको छ।

काठमाडौँ महानगरपालिका–३२, तीनकुनेमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलालीको गोदावरी गाउँपालिका–८ घर भई हाल बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल काठमाडौँ मेडिकल कलेज सिनामङ्गल पुर्‍याइएको थियो। तर, उपचारका क्रममा उनको निधन भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।