मंसिरमा वाणिज्य बैंकहरूको ब्याजदर थप घट्यो: ग्लोबल आईएमईको मुद्दतीमा सर्वाधिक ६ प्रतिशत ब्याज

काठमाडौं, ३० कात्तिक। मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदरमा थप गिरावट आएको छ। हालसम्म २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार, कात्तिकको तुलनामा मंसिरमा समग्र ब्याजदर घटेको देखिएको हो।

विशेषगरी, व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकको तुलनामा ०.१६० प्रतिशत विन्दुले घटेर ५.०४०५ प्रतिशतमा कायम भएको छ। कात्तिकमा यो दर ५.२००५ प्रतिशत रहेको थियो।

मंसिरका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ। ग्लोबल आईएमई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ६ प्रतिशत ब्याजदर तोकेको छ।

ब्याजदर घटाउने बैंकहरूमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स बैंक रहेका छन्। यी १० बैंकले ब्याजदर घटाउँदा अन्य १० बैंकहरू (कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक) ले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन्। यसरी १० बैंकले घटाउँदा औसतमा ब्याजदर घटेको हो।

सामान्यतया, बैंकहरूले छोटो अवधिको मुद्दती निक्षेपमा कम र लामो अवधिको मुद्दती निक्षेपमा केही बढी ब्याजदर प्रदान गर्दै आएका छन्। अधिकांश बैंकहरूले ५ वर्षभन्दा माथिको अवधिका व्यक्तिगत मुद्दतीमा उच्चतम ब्याजदर दिने गरेका छन्।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि स्वाभाविक रूपमा गिरावट आउँछ। निक्षेपको ब्याजदर घट्दा आधार दर (बेस रेट) घट्न गई कर्जाको ब्याजदर पनि स्वतः घट्ने गर्दछ, जसले ऋणीहरूलाई राहत पुग्ने देखिन्छ।

हाल बैंकहरूमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेको र कर्जा प्रवाह अपेक्षाकृत हुन नसक्दा ब्याजदर घटिरहेको विश्लेषण गरिएको छ। नेपाल राष्ट्र बैंकले पछिल्लो समय वित्तीय प्रणालीबाट लामो अवधिका लागि समेत तरलता खिच्दै आएको छ। राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायतका उपकरणमार्फत बैंकबाट पैसा खिच्ने गर्दछ।

हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत छ भने स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत रहेको छ।