अनेरास्ववियु अध्यक्षबाट डा. सुजन कडरियाको राजीनामा स्वीकृत, महासचिव धामीलाई जिम्मेवारी

काठमाडौँ, १ मङ्सिर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएका छन्। आज बसेको केन्द्रीय समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्दै अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको छ।

डा. कडरियाले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा स्वीकृत भएकोमा धन्यवाद व्यक्त गर्दै यस यात्रामा साथ, मार्गदर्शन र प्रेरणा दिने सबै अग्रज तथा सहयोद्धाप्रति कृतज्ञता व्यक्त गरेका छन्।

गत भदौ २३ को जेनजी आन्दोलनपछि कडरियाले पदबाट राजीनामा घोषणा गरेका थिए। तर, एमालेले घर फर्क अभियान घोषणा गरी रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतलाई भित्र्याएको दिन कात्तिक २४ गते कडरिया पनि कार्यालय फर्किएका थिए।

त्यस दिन कडरियाले वक्तव्य जारी गरेर जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका अन्य सबै नेताहरूलाई पनि आ–आफ्नो भूमिकामा फर्कन अपिल गरेका थिए। उनलाई केही पदाधिकारीले जुलुससहित केन्द्रीय कार्यालयमा लगेका थिए र उनले कार्यालयमै सम्बोधन पनि गरेका थिए।

लगत्तै, महासचिव दीपक धामीले परित्याग गरिसकेको अध्यक्ष पदमा नफर्कन चेतावनी दिँदै वक्तव्य जारी गरेका थिए। यो विवाद सतहमा आएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूले केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए। सोही अनुसार आज बसेको केन्द्रीय समिति बैठकबाट कडरिया अध्यक्ष पदबाट बिदा भएका छन् र त्यो जिम्मेवारी धामीले सम्हालेका छन्।