लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्यः राष्ट्रपति पौडेल
काठमाडौँ, ५ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ। पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा आज आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो शिक्षाले नै अहिलेको चुनौती सामना गर्न सक्नेमा जोड दिनुभएको हो।
देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको सन्दर्भ उल्लेख गर्दै उहाँले त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले भन्नुभयो, “यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ। यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु।”
राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार थप विषयको पठनपाठन सुरु गरी व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने आजको आवश्यकता भएको बताउनुभयो। शैक्षिक संस्थाहरूको प्रमुख कार्य मुलुकमा विभिन्न क्षेत्रका लागि आवश्यक गुणस्तरीय र दक्ष जनशक्ति तयार गर्नु भएको उहाँको भनाइ थियो।
“मुलुकको प्राज्ञिक र प्रशासनिक मात्र होइन, राजनीतिक क्षेत्रमा स्थापित धेरै महिलाहरू यसै क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका पाइन्छन्। उच्च शिक्षामा नयाँ नयाँ विषय अध्ययनका क्रममा पछिल्लो समय नेपाली विद्यार्थीहरु विदेशिने क्रम बढ्दो छ। यो यथार्थतालाई मध्यनजर गरी आगामी दिनमा बजारको मागलाई सम्बोधन गर्न स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा यो क्याम्पसले विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु,” राष्ट्रपति पौडेलले भन्नुभयो।
कुनै पनि मुलुकको विकासका लागि शिक्षाको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो। साथै, नेपालमा नारीहरूको शैक्षिक उन्नयनमा पद्मकन्याको विशेष योगदान रहेको बताउनुभयो। “राणा शासनको अन्त्य भएर प्रजातन्त्रको बिहानीसँगै शिक्षामा सर्वसाधारणको भर्खर पहुँच पुग्न लागेका बेला नेपाली नारीहरूका लागि उच्च शिक्षाको ढोका पद्मकन्याले नै खोलेको हो। त्यस्तो जटिल परिस्थितिमा उच्च शिक्षा प्रदान गर्ने मूल उद्देश्यका साथ स्थापना भएको पद्मकन्या क्याम्पस नारी शिक्षाको पर्यायका रूपमा रहेको छ,” राष्ट्रपति पौडेलले भन्नुभयो।
गुणस्तरीय शिक्षाका लागि महिला सशक्तीकरण भन्ने मूल उद्देश्यले स्थापित पद्मकन्या बहुमुखी क्याम्पस गौरवपूर्ण इतिहास भएको नेपालको एक अग्रणी शैक्षिक संस्था र नारी शिक्षाका लागि मुलुककै प्रमुख प्राज्ञिक केन्द्र बन्न सफल हुनु खुसीको विषय भएको उहाँले बताउनुभयो। उहाँले क्याम्पसलाई महिला विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्नका लागि भएको पहलप्रति प्रसन्नता प्रकट गर्दै यसको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो।