स्याङ्जामा जिप दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते; १२ जनालाई थप उपचारका लागि पोखरा रिफर
स्याङ्जा, १२ असार । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मिर्दी–चापाकोट सडकखण्डमा भएको उक्त दुर्घटनामा अन्य १८ जना घाइते भएका छन्।
मृत्यु हुनेमा वालिङ नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टा रहेका छन्। ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५ नम्बरको जिप अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।
स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये १२ जनाको अवस्था गम्भीर र मध्यम रहेकाले उनीहरूलाई थप उपचारका लागि पोखरा पठाइएको छ।
गम्भीर घाइते हुनेहरूमा वालिङ–७ की ४६ वर्षीया रूपकला सारू, रुपन्देही गैडहवा–४ की ५५ वर्षीया सुमित्रा गुरुङ र नवलपरासी (पूर्व) कावासोती–५ की ४१ वर्षीया मायादेवी सुनारी रहेका छन्।
यस्तै, मध्यम घाइते भएका १२ वर्षीया कर्मिसा सुनारी, जैकला सारू, रुक्सना थापा, कमला थापा, टोपबहादुर थापा, गौमाया सारू, बेलबहादुर आले, कुमार सारू र ज्ञानुमाया सारूलाई पनि पोखरा रिफर गरिएको छ। अन्य सामान्य घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ।
दुर्घटनामा जिप चालक २८ वर्षीय मिनबहादुर सारूलाई सामान्य चोट लागेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। जिपमा चालकसहित १८ जना सवार रहेको र ओरालो बाटोमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।