काठमाडौँ महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु : २४ वडाका ४२ खेलाडी सहभागी

काठमाडौँ, १२ असार । काठमाडौँ महानगरपालिकाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा आजदेखि ‘काठमाडौँ महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ । डल्लु आवास क्षेत्रस्थित भूकम्प स्मृति कभर्ड हलमा आयोजित एक विशेष समारोहका बीच महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले प्रतियोगिताको समुद्घाटन गर्नुभयो ।

महानगरका २४ वटा वडाबाट कुल ४२ जना खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेको यस प्रतियोगितालाई हालसम्मकै सबैभन्दा ठूलो सामुदायिक ब्याडमिन्टन प्रतिस्पर्धाको रूपमा लिइएको छ । उद्घाटन मन्तव्य राख्दै संयोजक केसीले भन्नुभयो, “यो प्रतियोगिताले अन्तर-वडा सम्बन्धलाई सुमधुर बनाउनुका साथै महानगरभित्रका खेलाडीलाई एउटै मञ्चमा ल्याएको छ । आगामी वर्षदेखि वडास्तरमै छनोट चरणका खेलहरू गराई विजेताहरूबीच फाइनल प्रतिस्पर्धा गराउने हाम्रो योजना छ ।”

कार्यक्रममा वित्त समितिका संयोजक एवं वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले महानगरपालिकाले खेलकुद पूर्वाधारमा लगानी बढाउँदै लगेको बताउनुभयो । उहाँले स्थानीय स्तरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य महानगरले राखेको उल्लेख गर्नुभयो ।

त्यस्तै, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सदस्य रामजी श्रेष्ठले यस किसिमको लगानीले युवा विकास र स्वस्थ समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताका लागि महानगरपालिकाले ३० लाख र संघले ६ लाख गरी कुल ३६ लाख रुपैयाँ लगानी गरिएको जानकारी दिइएको छ । जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले महानगरको यस पहलले उपत्यकामा घट्दै गएको ब्याडमिन्टन खेलाडीको सङ्ख्यामा सुधार ल्याउने अपेक्षा राख्नुभयो ।

सहभागिता र खेल प्रणाली
लैङ्गिक समानतालाई ध्यानमा राख्दै प्रत्येक वडाबाट २ पुरुष र २ महिला गरी ४ जना खेलाडीलाई सहभागी गराइएको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल र मिश्रित युगल (मिक्स डबल्स) गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । खेलहरू ‘लिग कम नकआउट’ प्रणालीमा खेलाइनेछ भने प्रत्येक खेल ‘वेस्ट अफ थ्री’ र १५ अङ्कको हुनेछ ।

पुरस्कारको व्यवस्था
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वडालाई समग्र नतिजाका आधारमा ‘विजेता वडा ट्रफी’ प्रदान गरिनेछ । 

  • पुरुष तथा महिला एकल: प्रथम हुनेलाई ३२ हजार, दोस्रोलाई २० हजार र तेस्रो हुने दुई जनालाई १०–१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । पाँचौँदेखि आठौँ स्थानसम्मका खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

  • मिश्रित युगल: विजेता टोलीलाई ४० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुने दुई टोलीलाई जनही १६ हजार रुपैयाँ प्रदान गरिनेछ । पाँचौँदेखि आठौँ स्थानसम्म आउने टोलीले जनही ४ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

उद्घाटन समारोहमा चर्या सुदन मुनिकारद्वारा मञ्जुश्री नृत्य र वडा नं. १५ को सांस्कृतिक खल पुचःका कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए । क्वाटर फाइनल र सोभन्दा माथिका खेलमा पुग्ने सबै खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।