समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि सञ्चालन हुने

काठमाडौँ, १६ मङ्सिर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ। निर्वाचन आयोगले आइतबारदेखि कान्तिपथस्थित कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै तयारी सुरु गरेको हो।

निर्वाचन आयोगद्वारा स्वीकृत कार्यक्रमअनुसार:
मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म: समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्ने।
मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म: निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिनेछ।
आगामी पुस १३ र १४ गते: उम्मेदवारको बन्दसूची पेस गरिने।
माघ २० गते: उम्मेदवारहरूको बन्दसूची अन्तिम प्रकाशन हुनेछ।

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गर्नुभएको थियो। समानुपातिकतर्फ निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव महादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराईले जिम्मेवारी बहन गर्नुभएको छ।

समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटिनेछन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सूत्रात्मक पद्धतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुनबमोजिमका जातीय, भौगोलिक, लैङ्गिक लगायतका समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकाले सबै पक्षको भरोसा रहने विश्वास व्यक्त गर्नुभयो।

विद्यमान कानुनअनुसार प्रतिनिधिसभाका २७५ सदस्यको प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट चयन हुनेछ। सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन समानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ। प्रत्यक्ष प्रणालीतर्फ आगामी माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ।

आइतबार नै नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्वतयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गर्नुभएको छ।