अमेरिकामा नवजात शिशुलाई हेपाटाइटिस ‘बी’ खोप नदिने निर्णय: जनस्वास्थ्यमाथि गम्भीर खेलबाड
काठमाडौं । चिकित्सा विज्ञानको एउटा आधारभूत सिद्धान्त छ– ‘डु नो हाम’ (हानी नगर) । तर, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) अन्तर्गतको खोप सल्लाहकार समिति (एसिआईपी) ले हालै गरेको एक निर्णयले यो सिद्धान्तलाई नै चुनौती दिएको छ। कुनै नयाँ वैज्ञानिक तथ्य वा तथ्याङ्क बिनै समितिले नवजात शिशुलाई जन्मनासाथ दिइने ‘युनिभर्सल हेपाटाइटिस बी’ खोपको सिफारिस खारेज गरिदिएको छ।
विवादास्पद निर्णय र विज्ञको असहमति
समितिको बहुमत (८–३ को मत) ले अबदेखि हेपाटाइटिस ‘बी’ पोजेटिभ देखिएका आमाबाट जन्मेका शिशुलाई मात्र जन्मनासाथ खोप दिने निर्णय गरेको छ। आमामा संक्रमण नदेखिएका शिशुले भने पहिलो मात्राका लागि दुई महिना कुर्नुपर्नेछ।
यो निर्णय आफैँमा कति जोखिमपूर्ण छ भन्ने कुरा समितिकै विज्ञ सदस्यहरूको प्रतिक्रियाबाट प्रस्ट हुन्छ। बाल सरुवा रोग विशेषज्ञ डा. कोडी मेइसनरले विपक्षमा मतदान गर्दै भने, “हामीले ‘हानी नगर’ भन्ने नैतिक दायित्व बिर्सेका छौँ। यो सिफारिसमार्फत हामी उल्टै हानी पुर्याउँदैछौँ।” त्यस्तै, अमेरिकन कलेज अफ फिजिसियन्सका डा. जेसन गोल्डम्यानले बैठकमा चेतावनी दिँदै भने, “यो परिवर्तनले बालबालिकालाई केवल खतरामा पार्ने काम गर्नेछ।”
यो विवादास्पद निर्णय एन्टी–भ्याक्सिन (खोप विरोधी) अभियानका समर्थक मानिने रोबर्ट एफ केनेडी जुनियरको प्रभावमा रहेका सदस्यहरूको दबाबमा आएको देखिन्छ, जसले तथ्यलाई लत्याउँदै खोपको सुरक्षामाथि प्रश्न उठाएका थिए।
किन जोखिमपूर्ण छ यो निर्णय?
विज्ञहरूका अनुसार हेपाटाइटिस ‘बी’ भाइरस निकै संक्रामक हुन्छ र यो सतहमा एक हप्तासम्म जीवित रहन सक्छ। यदि कुनै शिशु संक्रमित भयो भने, उसका लागि परिणाम भयावह हुन्छ। संक्रमित हुने ९० प्रतिशत शिशुमा यो रोग दीर्घरोग (Chronic) बन्छ। यसको कुनै उपचार छैन, जसले कलेजो बिगार्ने र कलेजोको क्यान्सर निम्त्याउने उच्च जोखिम हुन्छ। संक्रमित चारमध्ये एक बालबालिकाको यसैका कारण अकालमा मृत्यु हुने सम्भावना रहन्छ।
युनिभर्सिटी अफ मिनेसोटाको ‘भ्याक्सिन इन्टिग्रिटी प्रोजेक्ट’ले ४० वर्षका ४०० भन्दा बढी अध्ययनहरूको समीक्षा गर्दै जन्मनासाथ दिइने खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ। पूर्व एसिआईपी अध्यक्ष डा. होजे रोमरो भन्छन्, “विज्ञान स्पष्ट छ: हेपाटाइटिस बी शिशुहरूका लागि गम्भीर जोखिम हो। समयमै खोप नपाउँदा बालबालिकाले रोकथाम गर्न सकिने मृत्युको सामना गर्नुपर्नेछ।”
सुरक्षाको जाली (Safety Net) च्यातियो
अमेरिकामा सबै गर्भवतीको हेपाटाइटिस परीक्षण हुँदैन। करिब १८ प्रतिशत गर्भवती परीक्षणको दायरा बाहिर रहन्छन् भने कतिपयमा ‘फल्स नेगेटिभ’ (संक्रमण भए पनि नदेखिने) रिपोर्ट आउन सक्छ। अझ, २ प्रतिशत महिलाले त गर्भावस्थामा कुनै स्वास्थ्य जाँच नै गराउँदैनन्।
सबैभन्दा महत्त्वपूर्ण कुरा, शिशुलाई आमाबाट मात्र खतरा हुँदैन। परिवारका अन्य सदस्य वा स्याहारकर्ताबाट पनि रगतको माध्यमबाट यो भाइरस सर्न सक्छ। अमेरिकामा हेपाटाइटिस ‘बी’ भएका करिब २० लाख मानिसमध्ये आधालाई आफू संक्रमित भएको थाहा नै छैन। त्यसैले, सबै शिशुलाई जन्मनासाथ खोप दिनु नै सुरक्षाको एकमात्र भरपर्दो उपाय थियो, जसलाई अहिले हटाइएको छ।
इतिहास र अनुभव
सन् १९९१ मा सबै शिशुलाई खोप दिन सुरु गरेपछि अमेरिकामा हेपाटाइटिस ‘बी’ का घटनामा ९९ प्रतिशतले कमी आएको थियो। तर अहिलेको निर्णयले त्यो सफलतालाई उल्ट्याउने खतरा बढेको छ।
चिकित्सक डा. सु वाङको अनुभव यसको ज्वलन्त उदाहरण हो। खोप आउनुअघि जन्मिएकी उनलाई स्याहार गर्ने हजुरबुबा–हजुरआमाबाट अन्जानमा संक्रमण सरेको थियो। कलेज पढ्दा रक्तदान गर्न जाँदा मात्र उनले आफू संक्रमित भएको थाहा पाइन्। उनी भन्छिन्, “पारिवारिक इतिहास पत्ता लगाउन गाह्रो हुन्छ। हामी बच्चाको भविष्यको जोखिम अनुमान गर्न सक्दैनौँ, त्यसैले सबैलाई खोप दिनु नै बुद्धिमानी हो।”
अन्ततः यो निर्णयले एउटा गम्भीर प्रश्न खडा गरेको छ– के राजनीतिक एजेन्डा र अवैज्ञानिक तर्कका अगाडि अबोध शिशुहरूको स्वास्थ्य सुरक्षालाई दाउमा लगाउन मिल्छ?