मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा कालोपत्र सुरु, मौरीओडारमा काम तीव्र

तनहुँ, २६ मङ्सिर । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा लामो प्रतीक्षापछि कालोपत्र गर्न थालिएको छ। मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा पर्ने यो क्षेत्रमा पहिरोको उच्च जोखिमका कारण कालोपत्रको काम रोकिएको थियो, तर अब कामले तीव्रता पाएको छ।

सडकछेउमा निर्माण गरिएको पर्खाल यसअघि पहिरोले भत्काएको थियो, जसका कारण काममा ढिलाइ भएको थियो। पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै कालोपत्र गर्न बाँकी रहेकामा अब काम सुरु गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो।

हाल दुई लेनमा कालोपत्रको काम भइरहेको छ भने यो सकिएलगत्तै अर्को दुई लेनमा कालोपत्र गरिनेछ। पश्चिम खण्डमा अहिलेसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। ३८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ। त्यसमध्ये २९.६१ किलोमिटर खण्डमा चार लेन र ७.७९ किलोमिटर खण्डमा दुई लेन कालोपत्र सम्पन्न भएको छ।

पुल निर्माणतर्फ उक्त खण्डमा १२ वटा पुलमध्ये ११ वटा निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा एउटा पुल निर्माणाधीन अवस्थामा छ। गत आर्थिक वर्षमा पश्चिम खण्डमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३.०६ किलोमिटर कालोपत्र भएको थियो। ११ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम सबै पुल बनेका छन्।

यसैगरी, ६६ वटा कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ वटा र ५१.५ किलोमिटर नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५.२ किलोमिटर नाला निर्माण सम्पन्न भएको कुँवरले जानकारी दिनुभयो।
विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ। यस खण्डको ठेक्का एनहुई केयुएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा पाएको थियो।