सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्सले जित्यो एनपिएल उपाधि, १ करोड १० लाख पुरस्कार
काठमाडौँ, २७ मङ्सिर । सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनीले सहज जित निकाल्दै ट्रफी उचाल्न सफल भएको हो। उपाधिसँगै च्याम्पियन लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गर्यो।
सुदूरपश्चिमका लागि फाइनल खेल पुनः दुर्भाग्यपूर्ण बन्यो। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम यसपटक पनि उपविजेतामै सीमित हुन पुग्यो।
सुदूरपश्चिमले प्रस्तुत गरेको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। लुम्बिनीको जितमा दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरे। उनले मात्र १३ बलमा ५ छक्का र १ चौकाको मद्दतले सर्वाधिक ४२ रनको योगदान दिए।
यस्तै, कप्तान रोहित पौडेलले १२ बलमा १६ रन र डार्शी शर्टले १३ बलमा १४ रन बनाए। निरोशन डिक्वेला ११ रनमा अविजित रहे भने सन्दीप जोरा शून्यमा आउट भए। बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट तथा अविनाश बोहोरा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए पनि हार टार्न सकेनन्।
यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सको प्रदर्शन निकै कमजोर रह्यो। सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो।
सुदूरपश्चिमका लागि ईशान पाण्डेले ५१ बलमा ३३ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। कप्तान दीपेन्द्रसिंह ऐरीले १३, हरमीत सिंह र स्कट कुगेलिइनले १०–१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका बलरहरू हावी भए। कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पेलमानले समान ३–३ विकेट लिए भने टीका भण्डारीले १ विकेट हात पारे।