संसद विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौँ, २ पुस । नेपाली कांग्रेसका ८ निवर्तमान सांसदले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्तिविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासले सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे लगायतले दायर गरेको रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई असंवैधानिक ठहर गर्दै बदर गर्न माग गरिएको छ । रिट निवेदकहरूले संसद पुनर्स्थापना गरी तत्कालीन संसदको सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् । साथै, इजलाससमक्ष निर्वाचनका सबै गतिविधि तत्काल रोक्न समेत आग्रह गरिएको छ ।