मितेरी पुल पुनर्निर्माण सम्पन्न: केरूङ आउजाउका लागि सीमा पास नवीकरण सुरु

रसुवा, ७ पुस । नेपाल र चीन जोड्ने ल्हेन्देखोलामा मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएसँगै रसुवागढी नाकामा चहलपहल बढ्न थालेको छ ।

पुल सञ्चालनको तयारीसँगै अध्यागमन कार्यालय रसुवाले केरूङ आउजाउ गर्ने सवारी चालक र नागरिकका लागि सीमा पास नवीकरणको प्रक्रिया आइतबारदेखि सुरु गरेको हो ।

निमित्त अध्यागमन प्रमुख मेघनाथ शर्माका अनुसार आइतबार पहिलो दिन सात जनाको पास नवीकरण गरिएको छ । त्यस्तै, पाँच जनाको प्रतिलिपि र एक जनाको नयाँ पास जारी गरिएको छ । मितेरी पुल सञ्चालनमा आएपछि सामान आयात–निर्यातमा सहजता हुने भएकाले विशेषगरी केरुङतर्फ जाने सवारी चालकहरूलाई प्राथमिकतामा राखी पास नवीकरण थालिएको हो ।

अन्य जिल्लाबाट रसुवामा बसाइँ सरेर आएका व्यक्तिहरूको पास नवीकरण भने तत्कालका लागि रोकिएको छ । बाहिरबाट आएकाहरूलाई पास नदिन स्थानीयको दबाब रहेकाले सरोकारवाला पक्षको सहमति र नयाँ कार्यालय प्रमुखको आगमनपछि मात्र यस विषयमा आवश्यक निर्णय हुने अध्यागमन कार्यालयले जनाएको छ ।

मितेरी पुल बने पनि नाका पूर्ण रूपमा सञ्चालन हुने आधिकारिक मिति भने अझै टुङ्गो लागेको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चिनियाँ पक्षसँगको समन्वय र दुई देशका अधिकारीहरूबीचको बैठकपछि मात्र नाका सञ्चालनको मिति तय हुने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय नाका भएकाले द्विपक्षीय सहमतिपछि मात्र आवतजावतलाई औपचारिक रूपमा खुला गरिनेछ ।