उदयपुरमा साढे सात सय किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौँ, पुस १२ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी लोकमार्गबाट प्रहरीले ठूलो परिमाणमा अवैध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, विशेष सुराकीका आधारमा गरिएको जाँचका क्रममा ७५० किलो गाँजा बरामद गरिएको हो । को १ ज ३४५६ नम्बरको जिपमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिनुभयो ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा जिप चालक बेलटार नगरपालिका–६ निवासी रवीन राई र सोही स्थानका रामबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बरामद गरेको गाँजा र सवारी साधनसहित पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ । मदन भण्डारी सडक खण्डलाई अवैध कारोबारका लागि प्रयोग गरिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको हो ।
