सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसलमा कलाकार समिति च्याम्पियन

काठमाडौँ, पुस १२ गते । ललितपुर महानगरपालका वडा न १६ कलाकार समितिले शनिबार तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ ।

कलाकार समितिले फाइनलमा राष्ट्रिय फोटो पत्रकार समूहलाई पेनाल्टी सुटनआउटमा ३–२ ले हरायो । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मैदानमै पुगेर फाइनल खेल अवलोकन गर्नुभएको थियो । फाइनलको निर्धारीत समयको खेल १–१ ले बराबरीमा सकिएपछि च्याम्पियनको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । निर्धारीत समयमा कलाकार टिमका युजेश श्रेष्ठ र लोकेश लिम्बुले गोल गर्नुभयो । राष्ट्रिय समाचार समिति (रासस) तेस्रो स्थानमा रह्यो ।

यसअघि सेमिफाइनलमा ललितपुर वडा १६ कलाकार समितिले आयोजक नेवाः पत्रकार राष्ट्रिय दबू र र फोटो पत्रकार टिमले राष्ट्रिय समाचार समिति (रासस) लाई हराएका थिए । आठ टिम सहभागी प्रतयोगितामा प्रत्येक दुई समूहबाट शीर्ष दुई–दुई टिम सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगितामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), तामाङ पत्रकार संघ, बोधिचर्या नेपाल र आर्दश विद्या मन्दिर (एभिएम)समूह चरणबाटै बाहिरिए ।

सो प्रतियोगितामा विजेता टिमका युजेश नौ गोलसहित सर्वाधिक गोकलर्ता बन्नुभयो । यसैगरी एभिएमका नवीन महर्जनउत्कृष्ट गोलरक्षक र फोटो पत्रकार टिमका लोकेश सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो । प्रतियोगिताअन्तर्गत नेवाः पत्रकार राष्ट्रिय दबू र नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरबिच महिला मैत्री फुटसल खेल पनि खेलिएको थियो । जसमा ललितपुरको महिला पत्रकार टिम टाइब्रेकरमा २–१ ले वजयी भएको थियो ।

ललितपुर महानगरपालिका वडा ५ का अध्यक्ष विकासमान श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ फोनिजका अध्यक्ष लकी चौधरी, एभिएमकी प्रिन्सिपल सुजिता मानन्धरलगायत विजेता टिम तथा उपविजेता खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । नेवाः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको ११० औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गरेको हो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापकको पहिचान दिनुपर्ने अभियानअन्तर्गत फुटसल प्रतियोगिता हरेक वर्ष आयोजना गर्दै आएको छ, भन्नुभयो ।