इरानी विदेशमन्त्री अराघची र हमासका वरिष्ठ नेता नइमबीच भेटवार्ता, अमेरिका-इरान वार्ताका विषयमा छलफल
एजेन्सी, १० असार । इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी राजनीतिक तथा लडाकू समूह ‘हमास’ का वरिष्ठ अधिकारीसँग अमेरिका र इरानबीचको शान्ति वार्ता तथा मध्यपूर्वको पछिल्लो राजनीतिक परिस्थितिका विषयमा भेटवार्ता गर्नुभएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार विदेशमन्त्री अराघचीले हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमसँग तेहरानमा भेटवार्ता गर्नुभएको हो।
मध्यपूर्वमा जारी सैन्य टकराव अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र इरानबीच हालै कूटनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो। यस समझदारीमा गाजा क्षेत्रको विषय स्पष्ट रूपमा उल्लेख नगरिएको भए पनि लेबनान लगायतका क्षेत्रमा जारी सैन्य कारबाहीलाई तत्काल र स्थायी रूपमा अन्त्य गर्ने सहमति भएको छ।
हमासले यस सम्झौताको स्वागत गर्दै इजरायलसँगको दुई वर्षभन्दा लामो भीषण युद्धबाट ध्वस्त भएको गाजा पट्टीमा हिंसा अन्त्य गर्न यस कूटनीतिक पहलले ठोस सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ।
सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै प्यालेस्टिनी जनताको अधिकार रक्षालाई इरानले आफ्नो विदेश नीतिको मुख्य आधारशिला बनाउँदै आएको छ। भेटघाटका क्रममा विदेशमन्त्री अराघचीले प्यालेस्टिनी नागरिकहरूको स्वतन्त्र राष्ट्रिय अधिकार पूर्ण रूपमा स्थापित नभएसम्म वास्तविक न्याय हुन नसक्ने भन्दै इरानको निरन्तर र दृढ समर्थन रहने प्रतिबद्धता दोहोर्याउनुभयो।
अमेरिका र इरानबीचको यस कूटनीतिक वार्तामा सहजकर्ताको भूमिका खेलिरहेको छिमेकी राष्ट्र पाकिस्तानको औपचारिक भ्रमणका लागि विदेशमन्त्री अराघची राष्ट्रपति मसूद पेजेस्कियानसँगै मङ्गलबार इस्लामाबाद प्रस्थान गर्नुभएको थियो। सो भ्रमणलगत्तै इरानी कूटनीतिक नेतृत्व र हमास प्रतिनिधिबीच यो महत्वपूर्ण भेटवार्ता भएको हो।