रेबिजविरुद्धको खोपको अभाव छैन, ४ हजार ५०० भाइल खोप दुई दिनभित्र आइपुग्ने: स्वास्थ्य मन्त्रालय
काठमाडौँ, १० असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर रेबिजविरुद्धको खोपको कुनै अभाव नरहेको स्पष्ट पारेको छ। मन्त्रालयले ठूलो परिमाणमा मौज्दात नभए पनि बिरामीको आकस्मिक उपचारका लागि सबै सरकारी अस्पतालहरूमा आवश्यक खोप सुरक्षित रहेको जनाएको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले थप ५ हजार भाइल खोप आयातका लागि नयाँ बोलपत्र (टेन्डर) आह्वान भइसकेको जानकारी दिनुभयो। यसअघि गत माघ, चैत र जेठमा आह्वान गरिएका टेन्डरहरू रद्द भएपछि पुनः नयाँ प्रक्रिया अघि बढाइएको हो।
यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आगामी दुई-तीन दिनभित्र ४ हजार ५०० भाइल खोप उपलब्ध गराउने मन्त्रालयले जनाएको छ। यसअघि पनि डब्लुएचओले आकस्मिक उपचारका लागि ५ हजार भाइल खोप नेपाललाई सहयोगस्वरूप प्रदान गरेको थियो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)का निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा खोप लगाउन आउने सबै बिरामीलाई नियमित रूपमा सेवा दिइरहेको बताउनुभयो।
कुकुर, बिरालो र बाँदर जस्ता जंगली वा घरेलु जनावरले टोकेपछि रेबिज रोग लाग्न नदिन यो खोप लगाउनु अनिवार्य मानिन्छ।