नेपालगञ्ज उपमहानगरद्वारा १ अर्ब ७६ करोडको बजेट प्रस्तुत, भारतको अयोध्या नगरसँग भगिनी सम्बन्ध गाँसिने

नेपालगञ्ज, १० असार । नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बुधबार आयोजित १९औँ नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो। उपमहानगरपालिकामा हाल उपप्रमुखको पद रिक्त रहेको छ।

बजेट प्रस्तुत गर्दै नगरप्रमुख विष्टले प्रसिद्ध बागेश्वरी मन्दिर र निर्माणाधीन १०८ फिट अग्लो हनुमानको मूर्ति लगायतका ऐतिहासिक एवं सांस्कृतिक क्षेत्रहरूलाई समेटेर धार्मिक पर्यटन प्रवर्द्धन गर्न छिमेकी मुलुक भारतको अयोध्या नगरसँग भगिनी सम्बन्ध कायम गर्न कूटनीतिक पहल गरिने उल्लेख गर्नुभयो। यसका साथै उपमहानगरपालिकाभित्र रहेका कान्ति ताल, वाटरपार्क र रानी तलाउको संरक्षण गर्दै फुटाहा तालको स्तरोन्नति र ऐतिहासिक धोबी घाटको संरक्षण कार्यलाई अगाडि बढाइने बजेट वक्तव्यमा उल्लेख छ।

कृषि क्षेत्रलाई आकर्षक र आत्मनिर्भर पेसाका रूपमा विकास गर्न सिँचाइ, उन्नत बीउ र मलको सहज उपलब्धता सुनिश्चित गरिने उपमहानगरले जनाएको छ। उत्पादित वस्तुको व्यवस्थित बजारीकरणका लागि तरकारी तथा फलफूल बिक्री केन्द्र स्थापना गरिने र पुष्पखेती, सामूहिक खेती तथा लिज खेती जस्ता व्यावसायिक प्रणालीलाई प्रोत्साहन गरिने प्रमुख विष्टले बताउनुभयो। यस्तै, उपमहानगर क्षेत्रभित्र बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र नक्साङ्कन कार्यलाई निरन्तरता दिइनेछ।

नेपालगञ्जलाई प्रमुख ‘शैक्षिक हब’ का रूपमा विकास गर्न नगर शिक्षा योजनालाई अद्यावधिक गर्ने, स्थानीय पाठ्यक्रम परिमार्जन गर्ने र नियमित विद्यालय अनुगमन गर्ने नीति लिइएको छ। यसबाहेक उद्योग, व्यापार, रोजगार, स्वास्थ्य तथा पोषण, भौतिक पूर्वाधार, ऊर्जा र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूलाई समेटेर कुल १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँको आय-व्यय बजेट प्रस्तुत गरिएको छ।