वीरगञ्ज महानगरको नीति तथा कार्यक्रम: चार अर्ब ४२ करोडकाे बजेट प्रस्तुत
पर्सा, १० असार । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि डिजिटल प्रविधि, सुशासन, दिगो सहरी पूर्वाधार विकास र समावेशी सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले बुधबार आयोजित महानगरको २० औं नगरसभामा शिक्षा स्वास्थ्य सेवा, सरसफाई, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिलाई समेटेर चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा वीरगञ्जलाई सुशासनयुक्त, प्रविधिमैत्री र नागरिक–केन्द्रित सेवा प्रणाली भएको आर्थिक केन्द्रका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ। यसैगरी दिगो विकास लक्ष्यको स्थानीयकरण, भौतिक पूर्वाधारको सुधार, ऊर्जा सुरक्षा, जनस्वास्थ्य, कृत्रिम बौद्धिकता (एआई) को नियमन र कूटनीतिक समन्वयलाई मन्त्रालयगत बजेट प्राथमिकतामा राखिएको कार्यवाहक प्रमुख आलमले जानकारी दिनुभयो।
कृषि क्षेत्रको उत्पादकत्व बढाउन र व्यवसायीकरण गर्न भूमि व्यवस्था, सहकारी र कृषि मन्त्रालयसँग समन्वय गरी ठोस कार्यक्रमहरू सञ्चालन गरिनेछ। मुख्य खाद्यान्न बाली गहुँको उत्पादकत्व बढाउन कृषकहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ।
यसका साथै, जलवायु परिवर्तनका कारण बालीनालीमा लाग्ने आकस्मिक रोगव्याधि र कीरा नियन्त्रणका लागि ‘आकस्मिक बाली संरक्षण कार्यक्रम’ सञ्चालन गरिनेछ। सहरी क्षेत्रमा च्याउ खेती प्रवर्द्धन र हिउँदे मिनीकिट वितरणलाई समेत प्राथमिकता दिइएको छ।
महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न तथा विद्यालय बाहिर रहेका सबै बालबालिकाहरूलाई मूल प्रवाहमा ल्याउनका लागि खुद विद्यार्थी भर्ना दरलाई शतप्रतिशत पुर्याउने लक्ष्य राखिएको छ। यसका लागि नियमित समन्वय, सहकार्य, र सघन अनुगमन कार्यलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।