शीतलहरले दाउन्ने खण्डको सडक चिप्लो भएपछि सास्ती: वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाको आग्रह

काठमाडौँ, १६ पुस । निरन्तरको शीतलहरका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा यातायात आवागमन प्रभावित भएको छ ।

शीतलहरले सडकको सतह अत्यधिक चिप्लो भएपछि सवारी साधन सञ्चालनमा जोखिम र कठिनाइ उत्पन्न भएको हो ।

सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले बुधबार एक सूचना जारी गर्दै दाउन्ने खण्डमा यात्रा गर्ने यात्रुहरूलाई विशेष सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ । विगत केही दिनदेखि अचानक सुरु भएको शीतलहरका कारण निर्माणाधीन सडकको कच्ची भागमा समस्या देखिएको आयोजनाले जनाएको छ ।

हाल सो सडकका विभिन्न स्थानमा कल्भर्ट निर्माण तथा सडक ढलानको कार्य भइरहेकाले धेरै ठाउँमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेका छन् । यस्तो अवस्थामा सडक चिप्लो हुँदा सवारी जाम हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले मौसममा सुधार नआउन्जेल अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

यी हुन् वैकल्पिक मार्गहरू:
आयोजनाले दाउन्ने खण्डमा अवरोध उत्पन्न भएको अवस्थामा प्रयोग गर्न सकिने गरी निम्न वैकल्पिक सडकहरू सुझाएको छ:
१. नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल ।
२. गैँडाकोटको कालीगण्डकी चोक–रामपुर–पिपलडाँडा मार्ग ।
३. काठमाडौँबाट बुटवल वा बर्दघाटतर्फ जाने सवारीका लागि मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सकिने ।