स्याङ्जामा गोठ भत्किँदा एक जनाको मृत्यु : चौपाया पनि मरे
काठमाडौँ, असार ३२ । स्याङ्जाको गल्याङ नगरपालिका ६ पिडीखोलामा गोठ भत्किँदा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय धनबहादुर रेश्मी रहेका छन् ।
आज बिहान पातीखर्क वनपालेस्थित आफ्नै गोठमा भैँसी र बङ्गुरलाई कुँडो दिने क्रममा अचानक गोठ भत्किएर उनी पुरिएका थिए । वडाध्यक्ष दीपछिरिङ गुरुङका अनुसार गोठले थिचिँदा रेश्मीको घटनास्थलमै मृत्यु भएको हो ।
अविरल वर्षाका कारण पुरानो गोठको संरचना कमजोर भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । गोठ भत्किँदा त्यहाँ रहेका केही चौपायासमेत मरेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ ।