धोबीघाटमा दैनिक ३ करोड ७२ लाख लिटर क्षमताको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ, ३२ असार । काठमाडौँ उपत्यकाको ढल व्यवस्थापन र बागमती नदीको पुनर्जीवनका लागि निर्माण गरिएको ललितपुरको धोबीघाटस्थित अत्याधुनिक ढल प्रशोधन केन्द्रको ‘परिक्षण सञ्चालन’ सुरु भएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यही असार ३० गतेदेखि सुरु भएको यो परीक्षणले उपत्यकाको सहरी पूर्वाधार व्यवस्थापनमा नयाँ आयाम थपेको छ।

यस केन्द्रको दैनिक ३ करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता रहेको छ। सिजिसिओसी–अटल जेभीद्वारा निर्माण सम्पन्न गरिएको यस परियोजनाले उपत्यकाको ठुलो क्षेत्रको ढललाई प्रशोधन गरी मात्र नदीमा विसर्जन गर्नेछ।

पिआइडीका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीका दुवै किनारमा मुख्य ढल बिछ्याउने कार्य सम्पन्न गरेसँगै ती ढललाई यस केन्द्रमा जोडेर प्रशोधन प्रक्रिया सुरु गरिएको हो।

यस केन्द्रको पूर्ण सञ्चालनसँगै बागमती नदीमा सिधै मिसिने प्रदूषित ढलको मात्रा उल्लेख्य रूपमा घट्ने निश्चित छ। इन्जिनियर श्रेष्ठका अनुसार यसले नदीको जैविक अक्सिजन माग घटाउन र पानीको शुद्धता कायम गर्न मद्दत पुर्‍याउनेछ, जसले अन्ततः उपत्यकाको समग्र पारिस्थितिक प्रणालीमा सकारात्मक प्रभाव पार्नेछ।

निर्माणाधीन अन्य आयोजनाहरूमा पिआइडीले उपत्यकाका विभिन्न रणनीतिक स्थानहरूमा थप प्रशोधन केन्द्रहरूको सञ्जाल निर्माण गरिरहेको छ
धोबीघाट (दोस्रो केन्द्र): ३ करोड ७२ लाख लिटर (थप)।
कोडकु (ललितपुर): १ करोड ४२ लाख लिटर।
सल्लाघारी (भक्तपुर): १ करोड ७० लाख लिटर।
गोकर्ण र हनुमानघाट: क्रमशः ३० लाख र १० लाख लिटर।

इन्जिनियरिङ तथ्याङ्क अनुसार प्रयोग गरिने पिउने पानीको करिब ८० प्रतिशत भाग ढलमा परिणत हुन्छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हाल दैनिक २० करोड लिटर पानी वितरण गरिरहेकाले भविष्यको माग धान्न थप विकेन्द्रीकृत प्रशोधन केन्द्रहरू आवश्यक देखिएको छ।

निर्देशनालयले नदी किनारका सुकुम्वासी बस्ती हटाइएका क्षेत्रहरूलाई व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माणका लागि प्रयोग गर्न सरकारसँग जग्गा माग गरेको छ। नदी कोरिडोरका खाली जग्गाहरूमा साना र मध्यम खालका ‘डिसेन्ट्रलाइज्ड’ प्रशोधन प्रणाली स्थापना गर्ने सम्भाव्यता अध्ययन समेत भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *