सप्तकोसीमा पानीको बहाव बढ्याे, २१ ढोका खाेलियाे, खतराको सङ्केतस्वरूप ‘रेड अलर्ट
सुनसरी, ३२ असार । मनसुनको सक्रियतासँगै पूर्वी नेपालका पहाडी तथा हिमाली जलाधार क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण सप्तकोसी नदीको जलस्तरमा उल्लेख्य वृद्धि भएको छ। बुधबार राति कोसी ब्यारेजमा पानीको बहाव नियन्त्रण सीमा भन्दा माथि पुगेपछि ब्यारेज प्रशासनले उच्च सतर्कता अपनाउँदै ‘खतराको सङ्केत’ जारी गरेको छ।
सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार बुधबार ढिलो गरी गरिएको मापनमा सप्तकोसीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेको छ। सामान्यतया पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघ्नेबित्तिकै प्राविधिक रूपमा जोखिम मानिने भएकाले ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको छ।
नदीको बहावलाई सुरक्षित रूपमा निकास दिन ब्यारेजका कुल ५६ ढोकामध्ये हाल २१ वटा ढोका खोलिएको छ। जसमा ५२ वटा मूल ढोका र ४ वटा नहरतर्फका ढोकाहरू रहेका छन्। पूर्वी पहाडी जिल्लाहरूमा वर्षा जारी रहेकाले बहाव अझै बढ्न सक्ने जल–मौसमविद्हरूको प्रक्षेपण छ।
नेपालका सात प्रमुख नदीहरू (तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती) को सङ्गमस्थल रहेको सप्तकोसी वर्षायाममा निकै उग्र बन्ने गर्दछ। यसको बहावमा आउने उतारचढावले नेपालका तटीय जिल्लाहरू सुनसरी र सप्तरीका साथै सीमावर्ती भारतीय राज्य बिहारमा समेत डुबान र कटानको प्रत्यक्ष जोखिम निम्त्याउँछ। त्यसैले, मनसुनको समयमा कोसी ब्यारेजको व्यवस्थापन र पानीको निकासमा दुवै देशका सुरक्षा र प्राविधिक निकायहरूले विशेष निगरानी राख्ने गरेका छन्।
कोसी ब्यारेज नियन्त्रण कक्षले नदी तटीय क्षेत्र र टापुहरूमा बसोबास गर्ने स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।