‘ध्रुवे’ हात्तीकाे दाह्रा काटियो, स्याटेलाइट रेडियो कलर जडान गरी प्रविधिमार्फत २४ सै घण्टा निगरानी गरिने

चितवन, ३२ साउन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सुरक्षा चुनौतीका रूपमा रहेको कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’ लाई नियन्त्रणमा लिई ‘स्याटेलाइट रेडियो कलर’ जडान गरेको छ। हालसम्म २५ जनाको ज्यान लिइसकेको यस हात्तीको गतिविधि निगरानी गर्न र सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न निकुञ्ज प्रशासनले यो प्राविधिक कदम चालेको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, प्राविधिक टोलीले ध्रुवेलाई ‘डार्ट’ (बेहोस बनाउने औषधि प्रयोग) गरी सफल रूपमा रेडियो कलर जडान गरेको छ। यस प्रणालीले हात्तीको अवस्थितिबारे ‘रियल–टाइम’ (वास्तविक समय) तथ्याङ्क उपलब्ध गराउनेछ। जिपिएस ट्र्याकिङ मार्फत हात्ती कुन दिशामा अघि बढिरहेको छ भन्ने जानकारी प्राप्त हुने भएकाले हात्ती मानव बस्तीतर्फ प्रवेश गर्न लागेमा समयमै पूर्वसूचना जारी गर्न सहज हुने निकुञ्जको विश्वास छ।

यसका साथै, सुरक्षा सतर्कता अपनाउँदै हात्तीको प्रहार गर्ने क्षमतालाई कम गर्न ‘दाह्रा’ समेत काटिएको छ। दाह्रा काटिएपछि हात्तीलाई नियन्त्रणबाट मुक्त गरी पुनः प्राकृतिक बासस्थानमै छाडिएको छ।

गत असार २० गते भरतपुर–२३ मा ध्रुवेकै आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको दुःखद निधन भएपछि निकुञ्ज प्रशासनमाथि हात्ती व्यवस्थापनका लागि दबाब बढेको थियो। प्रतिकुल मौसम, बाढी र घना झाडीका कारण झण्डै डेढ महिनाको अथक प्रयासपछि मात्र निकुञ्जको टोली हात्तीलाई नियन्त्रणमा लिन सफल भएको हो।

यस जटिल अपरेसनमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका अनुभवी प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञहरूको संयुक्त टोली परिचालन भएको थियो।