एभरेष्ट टुरिजम अवार्ड २०२६

आगामी जेठमा दोस्रो ‘एभरेष्ट टुरिजम अवार्ड २०२६’ र ‘विश्व शान्ति सम्मेलन’ आयोजना हुने

काठमाडौँ, पुस १६ । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५ गते दोस्रो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२६’ तथा ‘विश्व शान्ति सम्मेलन’ आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर दिगो पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो । मङ्गलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाकी अध्यक्ष सत्यकला तामाङ लामाले पर्यटन र पर्यावरण संरक्षणलाई एउटै मञ्चबाट प्रवर्द्धन गर्ने अभियान स्वरूप अवार्डको घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिमाल नेपालको पर्यटकीय पहिचान हो, दिगो पर्यटनबिना हिमाल र हाम्रो पहिचान दुवै जोगाउन सकिँदैन ।”

गत वर्षको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख सल्लाहकार नामगेल शेर्पाका अनुसार यस वर्ष पर्वतारोही, आइसफल डाक्टर, पर्यटन श्रमिक, पत्रकार, समाजसेवी र अनुसन्धानकर्ता लगायतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डका लागि योग्य व्यक्ति छनोट गर्न एक निर्णायक मण्डल समेत गठन गरिएको छ ।

त्यसैगरी, कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले सोही अवसरमा आयोजना हुने ‘विश्व शान्ति सम्मेलन’ बारे प्रकाश पार्नुभयो । सम्मेलनमा विशेष गरी जलवायु परिवर्तनले नेपालका हिमाल र जनजीवनमा पारेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराइने उहाँको भनाइ छ । “जलवायु सङ्कटका साझा चुनौतीबारे नेपालको तर्फबाट आवाज उठाउनु नै यस सम्मेलनको मुख्य उद्देश्य रहनेछ,” मोक्तानले भन्नुभयो ।

सल्लाहकार महेश किरातीले सन् १९५३ मे २९ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरणमा यी कार्यक्रमहरू आयोजना गरिएको बताउनुभयो । यो दिवस नेपाली गौरव र मानव साहसको सुरुआत भएको दिन भएकाले यसको विशेष महत्व रहेको उहाँको तर्क थियो ।

अवार्ड कार्यक्रममा स्वदेशी तथा विदेशी विशिष्ट अतिथिहरूको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।