टेलर स्विफ्टले बनाइन् एमटीभी भीएमएमा नयाँ कीर्तिमान
लस एन्जलस । अमेरिकी गायिका टेलर स्विफ्टले एमटीभी भिडियो म्युजिक अवार्ड (भीएमए) को इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छन् । आइतबार लस एन्जलसमा आयोजित समारोहमा ‘भिडियो अफ द इयर’ अवार्ड जितेसँगै स्विफ्ट भीएमएको इतिहासमा सबैभन्दा बढी अवार्ड जित्ने कलाकार बनेकी हुन् ।
स्विफ्टले आफ्नो गीत ‘द फेट अफ ओफेलिया’ को भिडियोका लागि उक्त अवार्ड प्राप्त गरेकी हुन् । उक्त गीत उनको सन् २०२५ मा सार्वजनिक एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ मा समावेश छ ।
समारोहअघि स्विफ्ट र बियोन्सेको नाममा समान ३० वटा भीएमए अवार्ड थियो । नयाँ अवार्डसँगै स्विफ्टले बियोन्सेलाई पछि पार्दै भीएमएको इतिहासमा सर्वाधिक अवार्ड जित्ने कलाकारको कीर्तिमान आफ्नो नाममा पारेकी हुन् ।
स्विफ्टले समारोहमा पहिलोपटक प्रदान गरिएको ‘आर्टिस्ट डाइरेक्टर’ अवार्डसमेत प्राप्त गरिन् । उनले ‘ओपालाइट’ गीतको म्युजिक भिडियो लेखन तथा निर्देशन गरेकी थिइन् ।
समारोहमा चर्चित गायिका मडोनाले पनि तीनवटा महत्वपूर्ण अवार्ड हात पारिन् । उनले ‘आर्टिस्ट अफ द इयर’, ‘बेस्ट डान्स’ र साब्रिना कार्पेन्टरसँगको सहकार्यमा तयार ‘ब्रिङ योर लभ’ का लागि ‘बेस्ट कोलाबोरेसन’ अवार्ड जितिन् ।
६८ वर्षीया मडोनाले अवार्ड ग्रहण गर्ने क्रममा पहिलो भीएमए समारोहमा सहभागी भएको ४३ वर्ष बितिसकेको स्मरण गरिन् । उनले पछिल्लो डेढ वर्ष आफूलाई पुनः खोज्ने, आत्मविश्वास बढाउने र आफूले चाहेको संगीत सिर्जना गर्ने समय भएको बताइन् ।
यसैगरी दक्षिण कोरियाली समूह ब्ल्याकपिंककी सदस्य लिसाले पनि इतिहास रचेकी छन् । उनले ‘ड्रिम’ गीतका लागि ‘बेस्ट पप’ अवार्ड जित्दै भीएमएमा उक्त विधाको अवार्ड जित्ने पहिलो एसियाली एकल कलाकार बनेकी हुन् ।
समारोहमा बीटीएसले ‘बेस्ट ग्रुप’ र ‘सङ अफ द इयर’ अवार्ड जित्यो । ओलिभिया रोड्रिगोको ‘द क्योर’ ले ‘बेस्ट अल्टरनेटिभ’ तथा निर्वाणले ‘भिडियो भ्यानगार्ड’ अवार्ड प्राप्त गरे ।
समारोहमा टेलर स्विफ्ट, मडोना, लिसा, चार्ली एक्ससीएक्सलगायत चर्चित कलाकारको सहभागिता थियो । कार्यक्रम अमेरिकी र्यापर स्नुप डगले सञ्चालन गरेका थिए ।
