अजय देवगनको ‘दृश्यम ३’ बक्स अफिसमा सुपरहिट, पहिलो दिनमै ६६ करोडभन्दा बढी कमाइ
फ्र्यान्चाइजीको अन्तिम भागले अजय देवगनको क्यारियरकै सबैभन्दा ठूलो ओपनिङ दर्ज गर्यो
काठमाडौं । बलिउड अभिनेता अजय देवगन अभिनीत चर्चित सस्पेन्स थ्रिलर फ्र्यान्चाइजी ‘दृश्यम’ को तेस्रो तथा अन्तिम भाग ‘दृश्यम ३’ ले बक्स अफिसमा पहिलो दिनमै जोरदार कमाइ गरेको छ।
गत अक्टोबर २ गते सिनेमाघरमा रिलिज भएको यो फिल्मले सोही दिन ६० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ, जसले व्यापार विश्लेषकहरूको अपेक्षाभन्दा राम्रो सुरुवात गरेको देखाउँछ।
कति भयो कमाइ?
फिल्म-सम्बन्धी तथ्याङ्क राख्ने प्रतिष्ठित वेबसाइट स्याक्निल्क डटकमका अनुसार दृश्यम ३ ले रात १० बजेसम्म ६६.७५ करोड रुपैयाँ कमाइ गरिसकेको छ।
फिल्मको एडभान्स बुकिङ हेरेर व्यापार विश्लेषकहरूले यसले ५० करोड रुपैयाँभन्दा बढीको ओपनिङ गर्न सक्ने अनुमान गरेका थिए। तर फिल्मले उक्त अनुमानभन्दा समेत राम्रो प्रदर्शन गरेको छ।
दृश्यम १ र २ को तुलनामा निकै बढी कमाइ
फ्र्यान्चाइजीका अघिल्ला दुई भागको कुरा गर्दा दृश्यम १ ले पहिलो दिन ५.८५ करोड रुपैयाँ र दृश्यम २ ले पहिलो दिन १५.३८ करोड रुपैयाँ कमाइ गरेका थिए। दृश्यम १ ले आफ्नो पहिलो हप्तामा जम्मा ३७.९५ करोड रुपैयाँ मात्र कमाइ गरेको थियो।
यी तथ्याङ्कलाई हेर्दा अजय देवगनको दृश्यम ३ ले सुरुवाती दुई-तीन दिनमै १०० करोड रुपैयाँको आंकडा छुने देखिन्छ।
देवगनको क्यारियरकै सबैभन्दा ठूलो ओपनिङ
दृश्यम ३ ले फ्र्यान्चाइजीका अघिल्ला दुई भागको ओपनिङ-डे कमाइलाई त उछिनेकै छ, साथै यो अजय देवगनको पूरै अभिनय करियरकै सबैभन्दा ठूलो ओपनिङ भएको फिल्म पनि बनेको छ।
यसअघि यो कीर्तिमान ‘सिंघम रिटर्न्स’ फिल्मको नाममा थियो, जसले पहिलो दिन ३१.६८ करोड रुपैयाँ कमाइ गरेको थियो। दृश्यम ३ ले त्यो आंकडा पनि उछिनेको छ।
