विल विथर्सको चर्चित गीत ‘चोरी गरेको’ आरोपमा बेलायती गायिका ओलिभिया डिनमाथि मुद्दा
विवाद डिनको सन् २०२५ को ब्रिट अवार्ड विजेता एल्बम 'द आर्ट अफ लभिङ' (The Art of Loving) मा समावेश 'आईभ सिन इट' (I've Seen It) भन्ने गीतसँग जोडिएको छ।
बेलायती पप गायिका ओलिभिया डिनमाथि प्रसिद्ध अमेरिकी गायक स्वर्गीय विल विथर्सको चर्चित सोल गीत ‘जस्ट द टु अफ अस’को धुन चोरी गरेको आरोपमा अमेरिकाको क्यालिफोर्नियामा मुद्दा दर्ता भएको छ।
विवाद डिनको सन् २०२५ को ब्रिट अवार्ड विजेता एल्बम ‘द आर्ट अफ लभिङ’ मा समावेश ‘आईभ सिन इट’ भन्ने गीतसँग जोडिएको छ। सन् १९८१ मा सार्वजनिक भएको विथर्सको सो गीतका प्रतिलिपि अधिकार हेर्ने म्याटी म्युजिक ग्रुपले दुवै गीतका सांगीतिक संरचनाहरूमा असाधारण समानता रहेको दाबी गरेको छ।
अदालतमा दायर कागजात अनुसार संगीतविद् (Musicologist) को परीक्षणले दुवै गीतमा मुख्य धुनहरू पटक-पटक दोहोरिएको र यो संयोग मात्र हुन नसक्ने निष्कर्ष निकालेको छ। मुद्दामा डिनको रेकर्ड लेबल क्यापिटल रेकर्ड्स, यसको माउ कम्पनी युनिभर्सल म्युजिक ग्रुप र उनका पब्लिसिङ कम्पनीहरूलाई विपक्षी बनाइएको छ। यद्यपि, डिन वा उनका सह-लेखकहरूसँग भने व्यक्तिगत रूपमा क्षतिपूर्ति दाबी गरिएको छैन।
गत अगस्टमै प्रतिलिपि अधिकार उल्लङ्घनबारे रेकर्ड लेबललाई जानकारी गराइए तापनि गीत हटाउन अस्वीकार गरिएको दाबी प्रकाशकहरूको छ।
सन् २०२५ को सेप्टेम्बरमा सार्वजनिक भएको ओलिभिया डिनको ‘आईभ सिन इट’ गीत हालसम्म स्पोटिफाईमा २४ करोड ६० लाखभन्दा बढी पटक सुनिएको छ भने विथर्सको ‘जस्ट द टु अफ अस’ ९४ करोडभन्दा बढी पटक बजाइएको छ। डिनले यसै वर्षको ग्रामी अवार्डमा ‘बेस्ट न्यु आर्टिस्ट’ को उपाधि जितेकी थिइन्।
हालसम्म प्रतिवादीहरू र गायिकाका प्रतिनिधिहरूले यस मुद्दाबारे आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
