भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट बाहिरियो, ५५ जनाकै सफल उद्धार
झापा, १८ पुस । काठमाडौँबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको एउटा विमान अवतरणका क्रममा भद्रपुर विमानस्थलको धावनमार्ग (रनवे) बाट बाहिरिएको छ ।
शुक्रबार राति भएको यस घटनामा विमानमा सवार ५१ यात्रु र चालक दलका ४ सदस्य गरी कुल ५५ जना नै सकुशल रहेका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार काठमाडौँ–भद्रपुर उडान सङ्ख्या ९०१ (जहाज ९एन–एएमएफ) अवतरण गर्ने क्रममा रनवेबाट ‘ओभर रन’ भई करिब १८० मिटर बाहिर घाँसे मैदानमा पुगेको हो । “विमान धावनमार्गबाट बाहिरिए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ, सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित हुनुहुन्छ,” प्रजिअ गेलालले भन्नुभयो ।
झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूले साँझ ७ बजे काठमाडौँबाट उडेको उक्त विमान राति करिब ९ः४५ बजे अवतरण गर्ने क्रममा चिप्लिएको जानकारी दिनुभयो । विमान के कारणले रनवेबाट बाहिरियो भन्नेबारे प्राविधिक अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । अहिले विमानस्थलमा सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरिएको छ ।