माघे सङ्क्रान्तिको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा
काठमाडौँ, माघ १ । पवित्र चाड माघेसङ्क्रान्तिको अवसर पारेर सोमबारदेखि तीन नयाँ नेपाली चलचित्र ‘भाइरल गोर्खे’, ‘मिरमिरे’ र ‘गोबर गणेश’ देशभरका चलचित्र भवनमा एकसाथ प्रदर्शनमा आएका छन् । सार्वजनिक बिदाको समयमा दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षासहित निर्माता तथा निर्देशकहरूले सामाजिक तथा भावनात्मक कथावस्तुमा आधारित यी चलचित्रहरू प्रदर्शनमा ल्याएका हुन् ।
निगम श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘भाइरल गोर्खे’ ले वर्तमान समयमा सामाजिक सञ्जाल र ‘भाइरल’ हुने होडबाजीले निम्त्याएको प्रभावलाई मुख्य विषय बनाएको छ । चलचित्रका प्रमुख अभिनेता सौगात मल्लले यसमा टिकटक र भाइरल संस्कृतिले समाजमा पारेको आरोह–अवरोहलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको बताउनुभयो । यस चलचित्रमा सौगातका साथै सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र पत्रकार ऋषि धमलालगायतको अभिनय रहेको छ ।
त्यसैगरी, यम शेर्पाको निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ बुबा र छोरीबीचको संवेदनशील एवं भावनात्मक सम्बन्धमा केन्द्रित छ । अभिनेता दयाहाङ राईले चलचित्रले सामाजिक र पारिवारिक सम्बन्धका विभिन्न पाटालाई बिम्बात्मक रूपमा उजागर गरेको उल्लेख गर्नुभयो । मौलिक कथावस्तुमा आधारित यस चलचित्रमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा र शाइसा गौचनको पनि मुख्य भूमिका रहेको छ ।
हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन र मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ ले आमाको खुसीका लागि गाउँबाट सहर छिरेको एक युवकको सङ्घर्ष र उतारचढावको कथा बोकेको छ । यस चलचित्रमा वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना र पदम तामाङलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
माघेसङ्क्रान्तिको सार्वजनिक बिदालाई लक्षित गरी तीन चलचित्र एकैसाथ प्रदर्शनमा आए पनि पहिलो दिन चलचित्र भवनहरूमा दर्शकको उपस्थिति भने सामान्य देखिएको छ । व्यावसायिक सफलताको आशासहित प्रदर्शनमा उत्रिएका यी चलचित्रहरूले आगामी दिनमा दर्शकको कस्तो साथ पाउने हुन्, त्यो भने हेर्न बाँकी छ ।