निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जाँदै
काठमाडौं, ४ माघ । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद अब सर्वोच्च अदालत पुग्ने भएको छ ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्णय गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष त्यसका विरुद्ध आज सर्वोच्च अदालत जान लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजै सर्वोच्चमा रिट दर्ता गर्ने तयारी पूरा भएको छ । ‘हामी आज रिट लिएर सर्वोच्च जाँदैछौँ,’ उनले भने ।
गत शनिबार बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगको निर्णयलाई ‘राजनीतिक र कानुनी’ रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम कानुनी उपचारका लागि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा तयारी अगाडि बढाइएको थियो ।
खड्काले अहिले कानुन व्यवसायीहरुसँग परामर्श गरी रिटको अन्तिम मस्यौदा तयार पारिरहेका छन् । यस प्रक्रियामा नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती लगायतका कानुनविद्हरुले साथ दिइरहेका छन् ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले ‘विशेष महाधिवेशन’ आह्वान गर्दै नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको लडाइँ सुरु भएको हो । सो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चुनिएका छन् र निर्वाचन आयोगले सोही समूहलाई वैधानिकता दिएको छ ।
यता, देउवा पक्षले भने नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउनु विधानविपरीत र अनावश्यक भएको दाबी गर्दै आएको छ ।