कुलेखानी–काठमाडौँ सडकखण्डमा गाडी दुर्घटना: सर्लाहीका १७ वर्षीय किशोरको मृत्यु, दुई घाइते

काठमाडाैं, ८ माघ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिकै मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

कुलेखानी–काठमाडौँ सडकखण्डमा सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा सोही ठाउँका २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवान घाइते भएका छन् । घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ । उनीहरूको हाल काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ । ओरालो र घुम्ती बाटोमा तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।