पशुपतिमा महाशिवरात्रि तयारी सुरु : सेवा शिविर सञ्चालनका लागि सङ्घ-संस्थाहरूलाई आवेदन आह्वान

काठमाडौँ, ८ माघ । पशुपति क्षेत्र विकास कोषले आगामी महाशिवरात्रि पर्व-२०८२ लाई भव्य रूपमा सम्पन्न गर्न तयारी सुरु गरेको छ ।

कोषले यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजन, तीर्थयात्री र साधुसन्तहरूलाई विभिन्न सेवा प्रदान गर्न इच्छुक सङ्घ-संस्थाहरूका लागि आवेदन आह्वान गरेको हो ।

आगामी फागुन ३ गते आइतबार महाशिवरात्रि पर्व परेको छ । सो अवसरमा देश-विदेशबाट आउने भक्तजनको सुविधाका लागि निःशुल्क भोजन, आवास, खानेपानी, स्वास्थ्य सेवा र स्वयंसेवक सेवा शिविर सञ्चालन गर्न चाहने धार्मिक, सामाजिक तथा शैक्षिक संस्थाहरूलाई कोषले आवेदन दिन आग्रह गरेको छ ।

कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार सेवा शिविर सञ्चालन गर्न चाहने सङ्घ-संस्थाहरूले माघ २० गतेभित्र कोषमा निवेदन दर्ता गराउनुपर्नेछ । आवेदनका साथमा संस्था दर्ता एवं नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य हुनुपर्नेछ ।

संस्थाहरूले आवेदन दिँदा देहायका विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ:
सेवाको प्रकृति (भोजन, आवास, स्वास्थ्य आदि) ।
शिविरमा खटिने जनशक्तिको सङ्ख्या ।
सेवा शिविर सञ्चालन हुने अवधि ।
निर्धारित समयभित्र आवेदन नदिने र आवश्यक विवरण नखुलाउने संस्थाहरूलाई शिविरका लागि स्थान उपलब्ध गराउन र सेवा कार्यमा सहभागी गराउन नसकिने कोषले स्पष्ट पारेको छ ।

पशुपति क्षेत्रलाई सुन्दर, शान्त र आध्यात्मिक केन्द्रका रूपमा विकास गर्दै महाशिवरात्रि पर्वलाई सभ्य र दिव्य रूपमा सम्पन्न गर्न सबैको सक्रिय सहभागिताका लागि कोषले अपिल गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोहरू अनुसार यस वर्षको फाल्गुनकृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रि आगामी फागुन ३ गते आइतबार परेको छ । कोषले शिवरात्रिको सुरक्षा, आवास र अन्य व्यवस्थापकीय तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरेर काम अघि बढाउने जनाएको छ ।