रौतहटमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर (रौतहट), ९ माघ । रौतहटको राजदेवी नगरपालिकामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गौर-पिपरा भित्री सडकखण्डअन्तर्गत राजदेवी नगरपालिका–१ पथराटोलमा शुक्रबार बिहान सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३० एएफ २३७० नम्बरको भारतीय मोटरसाइकल एक-अर्कासँग ठोक्किएका थिए ।

दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरूमा रौतहटको दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारका ३० वर्षीय अशोक महतो र राजदेवी नगरपालिका–२ हजमिनियाका २९ वर्षीय अरबिन्द महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।