नेप्सेमा सामान्य अङ्कको गिरावट, कारोबार रकम १६ अर्ब नाघ्यो
काठमाडौँ, १२ माघ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । परिसूचक घटे पनि कारोबार रकम भने रु १६ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले घटेर दुई हजार सात सय ६९ दशमलव ०९ विन्दुमा कायम भएको छ । अघिल्लो दिन उच्च अङ्कले बढेको बजारमा आज अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बजारमा सामान्य ‘करेक्सन’ देखिएको हो । यस्तै सेन्सेटिभ इण्डेक्स १ दशमलव ६५ अङ्कले घटेको छ ।
आजको कारोबारमा तीन सय ३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार कित्ता शेयर एक लाख ४७ हजार छ सय ७६ पटक खरिदबिक्री हुँदा कुल रु १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार बराबरको कारोबार भएको छ । आइतबार रु १३ अर्ब ७८ करोड बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य बढेको छ भने नौ उपसमूहको ओरालो लागेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ६७ प्रतिशतले बढेको छ । यस्तै जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ ।
कारोबारका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६५ करोड ९३ लाख बराबरको शेयर कारोबार भयो । यस्तै आँखु खोला जलविद्युत कम्पनीको रु ५६ करोडभन्दा बढी र मञ्जुश्री फाइनान्सको रु ५२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
आज एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशत र ट्रेड टावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।