बाँकेमा आचारसंहिता पालनामा कडाइ : विद्यालयमा कार्यक्रम गर्नेदेखि सरकारी डोजर चलाउनेसम्मलाई स्पष्टीकरण
नेपालगन्ज, १८ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै बाँकेमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिएको छ ।
उम्मेदवार तथा दलका नेताहरूले आचारसंहिता विपरीतका गतिविधि गरेको गुनासो बढेपछि निर्वाचन आचारसंहिता अनुगमन समितिले निगरानी बढाएको हो ।
विशेषगरी बाँकेको निर्वाचन क्षेत्र नं २ र ३ मा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी परेको समितिले जनाएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीका अनुसार विद्यालयमा राजनीतिक कार्यक्रम गरिएको, बहालवाला वडाध्यक्षले प्रचारप्रसार गरेको र पालिकाको सरकारी डोजर तथा टिपर प्रयोग गरेर सडक ग्राभेल गरेको जस्ता उजुरी आएका छन् ।
‘आचारसंहिता विपरीतका यस्ता गतिविधि तत्काल रोक्न लगाई सम्बन्धित पक्षलाई सचेत गराएका छौँ,’ अधिकृत खत्रीले भने, ‘हामीले स्थलगत अनुगमन पनि गर्छौं, तर अहिले प्राप्त सूचना र जानकारीका आधारमा तत्काल एक्सन लिइरहेका छौँ ।’
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आचारसंहिताको पूर्ण पालना गर्न समितिले सबैलाई आग्रह गरेको छ । निर्वाचन आयोगले जिल्लामा सहायक प्रजिअ खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख सर्वोदय उपाध्यायलाई अनुगमन अधिकृतका रूपमा खटाएको छ ।
आयोगको कार्यतालिका अनुसार उम्मेदवार तथा दलहरूले आगामी फागुन ४ देखि १८ गतेसम्म मात्रै औपचारिक रूपमा चुनाव प्रचारप्रसार गर्न पाउनेछन् । निर्वाचन आचारसंहिता भने माघ ४ गतेदेखि नै लागू भइसकेको छ ।