निर्वाचन सुरक्षामा मकवानपुर प्रशासनको कडाइ: १५ थान हतियार बुझाइयो, १९ मतदानस्थल ‘अति संवेदनशील’
हेटौँडा, २६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मकवानपुरमा सुरक्षा र प्रशासनिक तयारीलाई तीव्र पारिएको छ। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार बुझाउन गरेको आह्वानपछि हालसम्म १५ जनाले आफ्ना हतियार बुझाएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार जिल्लाभर कुल ६० जनाले हतियार राख्ने इजाजत लिएका छन्। बाँकी रहेका हतियारधनीहरूलाई पनि यथाशीघ्र हतियार बुझाउन प्रशासनले ताकेता गरेको छ।
प्रशासनले तोकिएको समयभित्र हतियार नबुझाए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। बुझाइएका हतियारहरूलाई सुरक्षित राखिएको र निर्वाचन सम्पन्न भएपछि आगामी चैत २० गतेपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिने प्रहरीले जनाएको छ।
जिल्ला सुरक्षा समितिले मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ वटालाई ‘अति संवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा योजना तयार पारेको छ।
अति संवेदनशील: १९ स्थल (जसमा २६ वटा मतदान केन्द्र रहेका छन्)
संवेदनशील: ६० स्थल
सामान्य: ८८ स्थल
अति संवेदनशील मानिएका स्थलहरूमा बकैया गाउँपालिकाका ५, राक्सिराङका ६, बागमतीका ५ तथा भीमफेदी, मनहरी र कैलाश गाउँपालिकाका १-१ वटा रहेका छन्। यी क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइने डीएसपी बोगटीले जानकारी दिनुभयो।
निर्वाचनको सुरक्षाका लागि मकवानपुरमा एक हजार ९२३ निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन गरिने भएको छ। यसपटक मतदाताको सङ्ख्या बढेसँगै जिल्लामा ७ वटा मतदान केन्द्र थप गरिएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार मकवानपुरमा अब कुल १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र कायम भएका छन्।