ताप्लेजुङ केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा पनि महसुस गरियो धक्का

काठमाडौँ, २७ माघ । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान २:४७ बजे ४ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु नेपाल-भारत सीमा क्षेत्र नजिकै रहेको थियो । भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न स्थानहरूमा महसुस गरिएको थियो ।

मध्यरातमा भूकम्पको धक्का महसुस भएपछि कतिपय सर्वसाधारण घरबाहिर निस्किएका थिए । भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

नेपालको हिमाली क्षेत्र भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण मानिने भएकाले साना धक्काहरू गइरहने भूगर्भविद्हरू बताउँछन् ।