निर्वाचन आयोगको कडा निर्देशन: फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी बुझाउनै पर्ने
काठमाडौँ, २७ माघ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र अनिवार्य रूपमा आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगको मंगलबार बसेको बैठकले चुनावी प्रचारप्रसारलाई व्यवस्थित र नीतिपरक बनाउन यस्तो निर्णय गरेको हो।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता, २०८२’ को दफा ३७ मा भएको व्यवस्था अनुसार दल र उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्र वा घोषणापत्र सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दलले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा र प्रत्यक्षतर्फका उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो प्रतिबद्धता पत्र वा घोषणापत्र बुझाउनु पर्नेछ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम यो निर्देशन जारी गरेको हो। तोकिएको समय (फागुन ३ गते) भित्र घोषणापत्र सार्वजनिक नगर्ने वा आयोगमा पेस नगर्ने दल तथा उम्मेदवारहरूमाथि आचारसंहिता उल्लंघनको कसुरमा कारबाही हुन सक्ने सङ्केत आयोगले गरेको छ।
निर्वाचनमा उम्मेदवार र दलहरूले जनतासमक्ष गर्ने बाचा र योजनाहरूलाई आधिकारिक दस्तावेजको रूप दिने र निर्वाचित भएपछि सोही आधारमा उनीहरूको कार्यसम्पादनको मूल्याङ्कन गर्ने उद्देश्यले आयोगले यसपटक घोषणापत्रमा विशेष कडाइ गरेको हो।
निर्वाचनको औपचारिक प्रचारप्रसार सुरु हुनुअघि नै मतदाताहरूले दलका नीति र कार्यक्रमका बारेमा जानकारी पाउन सकून् भन्ने हेतुले फागुन ३ गतेको समयसीमा तोकिएको प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।