महाशिवरात्रिमा पशुपति क्षेत्रमा ८ लाख भक्तजन आउने अनुमान, चारै ढोका खुला
काठमाडौँ, ३ फागुन । आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिरमा आज (आइतबार) बिहानैदेखि महाशिवरात्रि पर्वको रौनक छाएको छ । ‘शिवको रात’ मानिने यो महान् पर्वमा दर्शन र पूजाका लागि देश-विदेशबाट आएका लाखौँ श्रद्धालु तथा हजारौँ साधुसन्तहरूको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति रहेको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार आज कम्तीमा आठ लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ । दर्शनार्थीको सहजताका लागि आज बिहान ४:०० बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खुल्ला गरिएको छ ।
मन्दिर परिसर र आसपासका क्षेत्रमा भारत तथा नेपालका विभिन्न भागबाट आएका करिब चार हजार साधुसन्तहरूको जमघट छ । मृगस्थली, भष्मेश्वर र निर्मल अखडा लगायतका स्थानमा बाबाहरूले धुनी बालेर भजनकीर्तन सुरु गरेसँगै पशुपति क्षेत्रको वातावरण आध्यात्मिक र शिवमय बनेको छ ।
भीड व्यवस्थापनका लागि कोषले चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ । कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीका अनुसार सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ ।
महाशिवरात्रिको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेराको सञ्जाल र मोबाइल गस्ती टोलीले २४ सै घण्टा काम गरिरहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षालाई मध्यनजर गर्दै १३ बुँदे विशेष निर्देशन जारी गरेको छ । प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले भक्तजनहरूलाई बहुमूल्य गहना नलगाउन, मोबाइल र क्यामेरा मन्दिरको भित्री भागमा नलैजान र प्रहरीको निर्देशन पालना गर्न अपिल गर्नुभएको छ ।
पशुपति क्षेत्र आसपासको सवारी आवागमनमा विशेष डाइभर्सन गरिएको छ भने आपत्कालीन सवारीका लागि छुट्टै रुट निर्धारण गरिएको छ । सयौँको सङ्ख्यामा खटिएका स्वयंसेवकहरूले भक्तजनहरूलाई लाइनमा बस्न र सूचना प्रवाह गर्न सहजीकरण गरिरहेका छन् ।
कोषले श्रद्धालुहरूलाई धैर्यतापूर्वक लाइनमा बस्न र पशुपति क्षेत्रको मर्यादा र स्वच्छता कायम राख्न विशेष अनुरोध गरेको छ ।