एमाले अध्यक्ष ओली निर्वाचन क्षेत्रमै केन्द्रित: आज पुनः झापा आउँदै, टोल–टोलमा पुगेर मतदाता भेट्ने

दमक, ३ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्र (झापा क्षेत्र नं. ५) मा निकै सक्रिय हुनुभएको छ । यसअघिका निर्वाचनमा ठूला आमसभा र केन्द्रका कार्यक्रममा बढी व्यस्त रहने ओली यसपटक भने मतदाताको घरदैलोमै पुग्ने रणनीतिमा लाग्नुभएको हो ।

गत माघ २३ गते झापा आएर सात दिनसम्म ८० भन्दा बढी गाउँको भ्रमण गरी काठमाडौँ फर्कनुभएका ओली आज (आइतबार) फेरि झापा आउन लाग्नुभएको हो । उहाँ बिहान १०:२० बजे काठमाडौँबाट भद्रपुर विमानस्थल अवतरण गरी सिधै निर्वाचन क्षेत्र प्रवेश गर्ने कार्यक्रम छ ।

एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार आज अध्यक्ष ओलीले विभिन्न समुदाय र क्षेत्रका अगुवाहरूसँग भेटघाट गर्ने कार्यतालिका छ:
शिक्षकहरूको विशेष भेलालाई सम्बोधन ।
अल्पसङ्ख्यक धिमाल जातिको भेलामा सहभागिता ।
मुस्लिम समुदायका नागरिकहरूसँग अन्तरक्रिया ।
दमक–२ स्थित अस्थायी निवासमा पार्टी कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट ।

फागुन ६ सम्म झापामै, सघन घरदैलोको तयारी
एमाले झापा क्षेत्र नं. ५ का चुनावी कमान्डर एवं केन्द्रीय सदस्य देवेन्द्र दाहालले अध्यक्ष ओली आगामी फागुन ६ गतेसम्म झापामै बसेर सघन चुनावी अभियान चलाउने जानकारी दिनुभयो । यो अवधिमा उहाँले दमक, गौरादह र कमल क्षेत्रका विभिन्न टोल र बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुहुनेछ ।

सोमबारका लागि दमकको रूट तय
एमाले दमकका अध्यक्ष राम पौडेलका अनुसार भोलि (सोमबार) ओलीले दमक नगरपालिकाका विभिन्न चोकहरूमा स्थानीयसँग संवाद गर्ने कार्यक्रम छ:
बिहान ११:०० बजे – यलम्बर चोक (दमक–५)
बिहान ११:५० बजे – शङ्खधर चोक (दमक–६)
दिउँसो १:०० बजे – तबिन चोक (दमक–७)
दिउँसो २:०० बजे – हल्दार चोक (दमक–१)
दिउँसो ३:०० बजे – गजकाली मन्दिर (दमक–३)
अपराह्न ४:०० बजे – आमचोक (दमक–३)

राजनीतिक विश्लेषकहरूले ओलीको यो सक्रियतालाई निकै अर्थपूर्ण रूपमा हेरेका छन् । विगतमा केन्द्रमा बढी समय दिने र आफ्नो क्षेत्रमा थोरै समयमा धेरै काम गर्ने ओलीले यसपटक भने ‘भुइँ तह’ का मतदाताको मन जित्न घरदैलोलाई प्राथमिकता दिनुभएको छ । विपक्षीहरूको घेराबन्दी र निर्वाचनको बढ्दो चुनौतीका बीच आफ्नै गढ सुरक्षित राख्न उहाँ आफैँ मैदानमा उत्रिएको बुझिएको छ ।
एमालेले यस क्षेत्रमा अध्यक्ष ओलीको जित सुनिश्चित गर्न टोल कमिटी र परिचालन कमिटीहरूलाई उच्च सतर्कताका साथ परिचालन गरेको छ ।ब