निर्वाचनमा बालबालिका प्रयोग र सवारी र्यालीमा प्रतिबन्ध : यस्ता छन् आयोगका ६४ बुँदे कडा निर्देशन
काठमाडौँ, ४ फागुन । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सभ्य, मर्यादित र अनुशासित बनाउन राजनीतिक दल र उम्मेदवारहरूका लागि ६४ बुँदे विशेष निर्देशन जारी गरेको छ । आयोगले निर्वाचनका क्रममा गरिने जुलुस, आमसभा, कोणसभा र प्रचारप्रसारका शैलीहरूमा कडा मापदण्ड तोकेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको स्वच्छता कायम राख्न देहायका मुख्य निर्देशनहरू पालना गर्नुपर्नेछ:
१. जुलुस र आमसभाका लागि पूर्वस्वीकृति अनिवार्य
कुनै पनि सार्वजनिक स्थलमा जुलुस, आमसभा वा भेला गर्नुभन्दा कम्तीमा २४ घण्टा अगाडि स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराउनुपर्नेछ । कार्यक्रमको मिति, समय, मार्ग र स्थानबारे पूर्वजानकारी दिएर अनुमति लिएपछि मात्र कार्यक्रम गर्न पाइनेछ । साथै, एउटै समय र मार्गमा दुई वा दुईभन्दा बढी दलले कार्यक्रम गर्न पाउने छैनन् ।
२. बालबालिकाको प्रयोगमा पूर्ण रोक
निर्वाचनका कुनै पनि प्रचारप्रसार, आमसभा, जुलुस वा सांस्कृतिक कार्यक्रममा बालबालिकालाई सहभागी गराउन वा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
३. सवारी र्याली र भित्ते लेखनमा प्रतिबन्ध
आयोगले चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा वा ठेलागाडा प्रयोग गरी र्याली आयोजना गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । यस्तै, घर वा सार्वजनिक पर्खालहरूमा कुनै पनि किसिमको भित्ते लेखन गर्न पाइने छैन ।
४. डिजिटल बोर्ड र फ्लेक्समा कडाइ
उम्मेदवार वा दलको कार्यालयमा ३ गुणा ४ फिटको एउटा कपडाको झण्डा र सोही नापको चुनाव चिह्न बाहेक अन्यत्र कतै पनि डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड वा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न पाइने छैन । अनलाइन वेबपेज, टिभी स्क्रोलिङ, सपिङ मलका डिस्प्ले र एटिएम काउन्टरमा समेत चुनावी सन्देश राख्न निषेध गरिएको छ ।
५. मतदानका दिन र आसपासका क्षेत्रमा नियम
मतदानको दिन मतदान कार्य सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान नसकिएसम्म मतदान केन्द्रको वरिपरि कुनै पनि निजी वा सार्वजनिक स्थानमा साउन्ड सिस्टम बजाउन, बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न र जुलुस निकाल्न पाइने छैन । यस्तै, उम्मेदवार वा उनको परिवारको घर आसपास गएर विरोध वा प्रदर्शन गर्न समेत रोक लगाइएको छ ।
६. आर्थिक प्रलोभन र चन्दामा रोक
निर्वाचनका बेला विभिन्न क्लब, सामाजिक वा धार्मिक संस्था, आमा समूह र गैरसरकारी संस्थाहरूलाई नगद वा जिन्सी वितरण गर्न, चन्दा, अनुदान वा पुरस्कार दिने घोषणा गर्न पाइने छैन ।
७. सार्वजनिक सम्पत्तिको प्रयोग र मर्यादा
घरधनीको अनुमतिविना निजी घरमा र कुनै पनि अवस्थामा सार्वजनिक भवन, उद्यान, सडकका पोलहरूमा दलको झण्डा वा चिह्न टाँस्न पाइने छैन । प्रचारप्रसारका क्रममा महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसङ्ख्यकको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधि नगर्न आयोगले सचेत गराएको छ ।
निर्वाचन आयोगले यी निर्देशनहरूको अक्षरसः पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ । आचारसंहिता र निर्देशनको उल्लङ्घन भएको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कडा कारबाही गरिने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।