वीरगञ्ज महानगर क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु
वीरगञ्ज, ११ फागुन । दुई समूहबीचको झडपपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
आइतबार साँझ युवाहरूको दुई समूहबीच झडप भएपछि शान्ति सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै प्रशासनले आज बिहान ९ः४५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लगाएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरका निश्चित चारकिल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको छ । जसअनुसार पूर्वमा बाइपास सडक, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेटसम्मको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ ।
कर्फ्यु लागू गरिएको यस चारकिल्लाभित्र सर्वसाधारणलाई आवतजावत गर्न पूर्ण रूपमा रोक लगाइएको छ । यसका साथै शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउलगायतका गतिविधि गर्नसमेत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले स्थितिलाई सामान्य बनाउन सर्वसाधारणलाई घरभित्रै बसेर सहयोग गर्न आग्रह गरेको छ भने चोक–चोकमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।