रसुवाको भोटेकोशीमा भीषण बाढी: टिमुरे बिओपी सुरक्षित, ड्युटीमा खटिएका सशस्त्र प्रहरी सम्पर्कविहीन
काठमाडौँ, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अचानक आएको भीषण बाढीले टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) सुरक्षित रहे पनि कार्यक्षेत्र (ड्युटी) मा खटिएको सुरक्षा टोली सम्पर्कविहीन बनेको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवं सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाका अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण टिमुरे क्षेत्रमा भौतिक क्षति भएको अनुमान गरिएको छ। “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर सो क्षेत्रमा सीमा सुरक्षा तथा नियमित ड्युटीमा खटिएको सुरक्षा टोलीसँग हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन,” सहप्रवक्ता थापाले जानकारी दिनुभयो।
बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएका कारण प्रहरी टोलीसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ। सम्पर्कविहीन भएका सशस्त्र प्रहरीहरूको खोजी गर्न र सो क्षेत्रको वास्तविक अवस्था बुझ्न तत्काल उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।