तिब्बतबाट आएको भीषण बाढीले रसुवागढी भन्सारको भौतिक संरचना पूर्ण रूपमा नष्ट, यार्डका सवारीसाधन बगे

काठमाडौँ, १० भदौ । तिब्बतबाट आएको अप्रत्याशित भीषण बाढीका कारण रसुवागढी भन्सार कार्यालयको भौतिक संरचनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले भन्सारको यार्डमा जाँचपासका लागि राखिएका सबै सवारीसाधनहरू बगाएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बाढी आउनासाथ भन्सारका कर्मचारीहरू ज्यान जोगाउन आफ्ना मोबाइल तथा सरसामानहरू छाडेर सुरक्षित स्थानतर्फ भागेका थिए। मन्त्रालयले हाल कर्मचारीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास गरिरहेको छ। धेरैजसो कर्मचारीहरू सम्पर्कविहीन रहेकाले क्षतिको यकिन विवरण सङ्कलन गर्न केही समय लाग्ने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार रसुवागढी भन्सार कार्यालयमा कुल ३६ जना कर्मचारीको दरबन्दी रहेकामा दुई जना बिदामा थिए। भन्सार यार्डमा रहेका मालवाहक कन्टेनर तथा अन्य सवारीसाधन बाढीले बगाएर लगेको र कार्यालयको प्रशासनिक संरचनासमेत क्षतिग्रस्त भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *