रसुवा भोटेकोशी बाढी: टिमुरे र स्याफ्रुबेँसीमा करिब एक हजार नागरिक फसे, ४ बैंक कर्मचारी बेपत्ता

रसुवा, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो सङ्ख्यामा नागरिकहरू अलपत्र परेका छन्। बाढी र पहिरोका बीच ज्यान जोगाउन सङ्घर्ष गरिरहेका करिब एक हजार नागरिकले उद्धारका लागि सरकार र स्थानीय प्रशासनसँग गुहार मागेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार टिमुरे र स्याफ्रुबेँसी क्षेत्रबाट करिब एक हजार मानिसले फोनमार्फत उद्धारका लागि भावुक अपिल गरेका छन्। बाढीको पानी बस्तीमा पसेपछि ज्यान जोगाउन कतिपय नागरिकहरू रूख र डाँडामा बसिरहेको र तत्काल हेलिकप्टरमार्फत हवाई उद्धारको पर्खाइमा रहेको प्राधिकरणका अधिकारीहरूले जनाएका छन्।

यसैगरी, बाढीका कारण टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा कार्यरत बैंकका कर्मचारीहरू बेपत्ता भएको विवरण प्राप्त भएको छ। प्रभु बैंकको टिमुरे र स्याफ्रुबेँसी शाखाका १० जना कर्मचारीमध्ये तीन जना र नबिल बैंकका एक जना कर्मचारी बाढीमा बेपत्ता भएकाले तत्काल खोजी गरिदिन आफन्त तथा बैंक प्रशासनले आग्रह गरेका छन्।

नदीमा पानीको बहाव उच्च रहेको र बाढीसँगै आएको पहिरोले यातायात तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा स्थलगत उद्धार कार्यमा कठिनाइ भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली प्रभावित क्षेत्रमा खटिएको गृह मन्त्रालयले जनाएको छ।