इरान-अमेरिका तनाव: ‘हर्मोज जलसन्धि’ अझै बन्द रहने, ट्रम्पद्वारा इरानलाई कडा चेतावनी

 

वासिङ्टन/तेहरान (एजेन्सी) । इरान र अमेरिकाबीच बढ्दो सैन्य र कूटनीतिक तनावका कारण रणनीतिक रूपमा महत्वपूर्ण ‘हर्मोज जलसन्धि’ अझै बन्द रहने भएको छ। ओमानसँग अस्थायी पारवहन सम्झौता भए तापनि इरानले यो जलमार्ग पूर्ण रूपमा खुला गर्न अस्वीकार गरेको हो।

इरानी उप-परराष्ट्र मन्त्री काजेम घारीबाबादीका अनुसार वासिङ्टनले पूर्वसहमति (एमओयू) अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू पूरा नगरेसम्म जलसन्धि खुल्ने छैन। अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेका सबै बारुदी सुरुङ (Mines) हरू हटाइएको दाबी गर्दै इरानलाई कडा चेतावनी दिनुभएको छ। ट्रम्पले यदि इरानले पुनः नयाँ सुरुङहरू बिछ्याउन खोजेमा त्यस्ता जहाजहरूलाई तत्काल ‘नष्ट’ गरिने बताउनुभएको छ।

अमेरिकी विदेश मन्त्रालयले इरानको आर्थिक जीवनरेखा काट्न र हालैका प्रतिबन्धहरूलाई थप प्रभावकारी बनाउन ठोस कदम चालिरहेको जनाएको छ।

अमेरिकाको ‘दुईधारे’ रणनीति
अमेरिकी रणनीतिलाई विश्लेषण गर्दै डोनाल्ड ट्रम्पको सन् २०२४ को चुनावी अभियानका पूर्व निर्देशक रब अर्लेटले वासिङ्टनले सैन्य दबाब र कूटनीतिलाई सँगसँगै अगाडि बढाएको बताउनुभएको छ। अल जजीरासँग कुरा गर्दै उहाँले भन्नुभयो, “राष्ट्रपति ट्रम्पको रणनीति स्पष्ट छ– पहिलो, हर्मोज जलसन्धि पुन: सञ्चालन गर्ने र दोस्रो, इरानलाई वार्ताको टेबुलमा ल्याउने।” अर्लेटले इरानले व्यावसायिक जहाजहरूलाई निशाना बनाएका कारण यसअघिको सहमति भाँडिएको आरोप समेत लगाउनुभयो।

जहाजको आवागमनमा भारी गिरावट
तनावका कारण हर्मोज जलसन्धि हुँदै हुने ढुवानीमा ठूलो गिरावट आएको छ। रोयटर्सका अनुसार सामान्य अवस्थामा दैनिक औसत १५ वटा जहाज आवतजावत गर्ने यस मार्गमा मंगलबार केवल ५ वटा व्यापारिक जहाज मात्र चलेका छन्। सुरक्षा जोखिमका कारण धेरैजसो जहाजहरूले आफ्नो ट्रान्सपोन्डर (Transponder) बन्द गरेर यात्रा गरिरहेको बताइएको छ।