बालेनको अभिव्यक्तिप्रति निर्माण व्यवसायीको गम्भीर आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग
काठमाडौँ, ११ फागुन । निर्माण व्यवसायीहरूको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।
निर्माण व्यवसायीलाई ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने शाहको अभिव्यक्ति अमर्यादित र उत्तेजक रहेको भन्दै महासङ्घले सार्वजनिक रूपमा माफी माग्न माग गरेको हाे ।
फागुन ६ गते कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेता शाहले सडक निर्माणमा हुने ढिलाइलाई लक्षित गर्दै विवादस्पद अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्छ ।’
महासङ्घले पत्रकार सम्मेलन गर्दै शाहको उक्त भनाइ सस्तो लोकप्रियताका लागि दिइएको र यसले निर्वाचन आचारसंहिताको समेत उल्लङ्घन गरेको दाबी गरेको छ । देशभरका करिब ३० हजारभन्दा बढी निर्माण व्यवसायीको प्रतिनिधित्व गर्ने संस्थामाथि जिम्मेवार राजनीतिक व्यक्तिबाटै यस्तो टिप्पणी आउनु दुःखद भएको महासङ्घको ठहर छ । भौतिक पूर्वाधार विकासमा निर्माण व्यवसायीको महत्त्वपूर्ण योगदान रहे पनि यस्ता अभिव्यक्तिले व्यवसायीको मनोबल गिराउने र तेजोवध गर्ने काम गरेको महासङ्घले जनाएको छ ।
सडक तथा निर्माण कार्यमा ढिलाइ हुनुमा व्यवसायीको मात्र दोष नहुने महासङ्घको दाबी छ । ऐन–कानुनका झन्झट, बजेट तथा स्रोत सुनिश्चितताको अभाव, न्यून बजेट विनियोजन, त्रुटिपूर्ण डिजाइन र नीतिगत जटिलताका कारण आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको महासङ्घले स्पष्ट पारेको छ ।