ओलीको हारजित सिंगो देशको स्वाभिमानसँग जोडिन्छ : उपमहासचिव भट्टराई

झापा, १७ फागुन । नेकपा (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हारजित सिंगो देशको राष्ट्रियता र स्वाभिमानसँग जोडिएको दाबी गरेका छन्।

झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकाको गेउरियामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता भट्टराईले झापालाई नेपालका कम्युनिष्टहरूको ‘अति पवित्र स्थल’ को सङ्ज्ञा दिए। यस क्षेत्रमा एमालेले जित्नु समग्र कम्युनिष्ट आन्दोलनकै जित हुने उनको जिकिर थियो।

“केपी शर्मा ओलीको विजय वा पराजय नेकपा एमालेसँग मात्र सीमित छैन, उहाँको विजय वा पराजय यो देशकै विजय वा पराजयसँग जोडिन्छ,” उपमहासचिव भट्टराईले भने। अध्यक्ष ओलीको जितलाई नेपाली जनताको राष्ट्रियता र ‘नेपालीत्व’ सँग जोड्दै उनले थपे, “ओलीको विजय भनेको देशको स्वाभिमानलाई माथि उठाउने र ‘हामी नेपाली हौँ’ भन्ने पहिचानलाई अझ गर्वका साथ उचाल्ने विषय हो।”

निर्वाचनको मुखमा पार्टीभित्रका आन्तरिक असन्तुष्टि र गुनासालाई थाती राख्न उनले कार्यकर्तालाई निर्देशन दिए। अहिलेको प्रमुख आवश्यकता सानातिना मतभेद भुलेर एकढिक्का भई पार्टीलाई विजयी गराउनु रहेको उनको भनाइ थियो।

पार्टीभित्र सबैको आ–आफ्नो कार्यविभाजन रहेको स्पष्ट पार्दै नेता भट्टराईले भने, “कोही सङ्गठन सञ्चालनको जिम्मेवारीमा हुनुहुन्छ, कोही संसद्‌मा त कोही स्थानीय तहमा खटिरहनुभएको छ। यसलाई लिएर अनावश्यक चर्चा–परिचर्चा र टीकाटिप्पणी गर्नुको औचित्य छैन।”

उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई आ–आफ्नो मोर्चामा रहेर इमानदारीपूर्वक तोकिएको जिम्मेवारी निर्वाह गर्न र एमालेको जित सुनिश्चित गर्न सुझवा दिए।