पर्सामा उम्मेदवार सवार गाडीबाट बम बरामद : मनोज चौधरीसहित ४ जना हिरासतमा, सेनाद्वारा विस्फोटक डिस्पोज
पर्सा, २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको ठिक अघिल्लो दिन पर्सा निर्वाचन क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरी गम्भीर कानुनी सङ्कटमा परेका छन् । उनी सवार गाडीबाट विस्फोटक पदार्थ (बम) बरामद भएपछि प्रहरीले उनी विरुद्ध हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।
गएराति वीरगञ्जको बरहनियार चोकमा गरिएको नियमित सुरक्षा चेकजाँचका क्रममा चौधरी सवार गाडीबाट विस्फोटक पदार्थ फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेतका अनुसार प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बा १० च १२५० नम्बरको रातो कार खानतलासी गरेको थियो । सो क्रममा गाडीभित्र बमजस्तो देखिने ४ पोका शङ्कास्पद वस्तु फेला परेको थियो ।
शङ्कास्पद वस्तु भेटिएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो । सेनाको टोलीले उक्त वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरिसकेको छ ।
गाडीबाट विस्फोटक पदार्थ बरामद भएपछि प्रहरीले उम्मेदवार मनोज चौधरीसहित अन्य तीन जनालाई तत्काल नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा चौधरीका साथै सत्यनारायण दास, सुरज कार्की र गाडी चालक रहेका छन् । उनीहरू सबैलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।
डीएसपी बस्नेतले भन्नुभयो, “नेपाली सेनाको प्राविधिक रिपोर्ट आएपछि उनीहरू विरुद्ध फौजदारी कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाइनेछ । अदालत खुलेपछि म्याद थप गरी कानुनी प्रक्रिया सुरु हुनेछ ।”
पक्राउ परेका उम्मेदवार चौधरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं वीरगञ्ज महानगर कमिटीका अध्यक्ष समेत थिए । उनी यसपटक नेकपाको तर्फबाट चुनावी मैदानमा छन् ।